
काठमाडौँ- वैकल्पिक शक्ति भन्दै राजनीतिक गतिविधि अगाडि बढाइरहेका राजनीतिक दलहरू आगामी निर्वाचनलाई मध्यनजर गरी साझा मोर्चा निर्माणको तयारीमा जुटेका छन्। यद्यपि, नेतृत्वको आकांक्षा, अघिल्लो राजनीतिक अनुभव र विश्वासको संकटले औपचारिक रूपमा मोर्चाले आफ्नो स्वरूप ग्रहण गर्न सकेको छैन।
आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच वैकल्पिक मोर्चा निर्माणका लागि राजनीतिक संवाद अगाडि बढाइएको हो। डा.बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विवेकशील साझा पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर आगामी चुनावलक्षित मोर्चा निर्माण गर्ने तयारी भइरहेको एक नेताले बताए। त्यस्तै, मोर्चामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई समेत समावेश गर्ने प्रयास भइरहेको छ।
कार्यगत एकतादेखि पार्टी एकतासम्मको तयारी
मोर्चा निर्माण गर्ने सन्दर्भमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र विवेकशील साझा पार्टीबीच प्रारम्भिक संवाद सुरु भइसकेको छ। नेसपा राजनीतिक संवाद समितिका एक सदस्यका अनुसार अन्य दलहरूसँग पनि छलफल प्रारम्भ हुने चरणमा छ। मोर्चा निर्माणसँगै दीर्घकालीन रूपमा पार्टी एकताको ढोका समेत खुल्ने सम्भावना रहेको ती नेताले बताए।
यसै क्रममा, रास्वपाले ५ असारमा ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्दै समान सोच भएका शक्तिहरूसँग समन्वय र सहकार्यको घोषणा गरिसकेको छ। रास्वपाको सचिवालय बैठकले अहिलेको जटिल राजनीतिक परिस्थितिमा वैकल्पिक विचार प्रवाहलाई एउटै मोर्चामा बाँध्ने प्रयासस्वरूप आफैँले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिसकेको छ।
रास्वपाभित्र द्विविधा
वैकल्पिक मोर्चाका विषयमा रास्वपाभित्र मिश्रित धारणा देखिएको छ। पार्टीका नेताहरू डीपी अर्याल, सन्तोष परियार, सोविता गौतमलगायतले डा.भट्टराईसँग संवाद गर्दै कार्यगत एकता तथा पार्टी एकताको पक्षमा उभिँदा पार्टीकै अर्का नेता डा.स्वर्णिम वाग्ले भने डा.भट्टराईको नेतृत्वमा एकता गर्न इच्छुक देखिँदैनन्। वाग्ले स्वयं रास्वपा सभापति बन्ने तयारीमा रहेको स्रोतको दाबी छ।
यद्यपि, वैकल्पिक धारको साझा एजेन्डामा हालैको ‘हस्ताक्षर अभियान’ मार्फत केही सहकार्यको संकेत पनि देखिएको छ। रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा पुर्पक्षमा थुनामा परेपछि सुरु गरिएको अभियानमा डा.भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सहभागी भएका थिए। उनीहरूले रास्वपा कार्यालयमै पुगेर समर्थन जनाएका थिए।
अन्य वैकल्पिक दलहरू भने रास्वपाले पुनः एक्लै चुनावमा जाने सम्भावनाबाट सशंकित छन्। अहिले रास्वपा जनलहरको भरमा जनसमर्थन बटुलिरहे पनि त्यो स्थायी नहुने चेतावनी उनीहरूले दिइरहेका छन्। ‘रविजीमाथि केस नआउँदासम्म उत्साह थियो, केस आएपछि मत्थर भयाे। अहिले फेरि बढेको छ,’ एक नेताले भने,‘तर भोलि चुनाव नजिकिँदा एक्लै लड्ने रणनीति रास्वपाले लियो भने त्यो धोका हुनेछ।’
बालेन शाहको चासो र पहल
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले समेत डा.भट्टराईसँग संवाद थालिसकेको स्रोतको दाबी छ। उनले आफ्ना प्रतिनिधिमार्फत सम्भावित सहकार्यका लागि कुरा अघि बढाएका छन्। बालेन हाल औपचारिक रूपमा कुनै पार्टीमा आबद्ध नभए पनि वैकल्पिक मोर्चाको एउटा प्रभावशाली अनुहारको रूपमा हेरिएको छ। त्यसैले वैकल्पिक शक्तिका लागि भन्दै निर्माणको प्रयास थालिएको यो मोर्चामा बालेनलाई सहभागी गराउन नेताहरूले अधिकतम प्रयास गरिरहेको बताइएको छ।