मधेशमा पानीको हाहाकार : संकटमा अन्नभण्डार

किरण पौडेल १ साउन २०८२ १४:२१
20
SHARES
मधेशमा पानीको हाहाकार : संकटमा अन्नभण्डार खानेपानी वितरणका लागि मधेश प्रदेश सरकारले परिचाल गरेका दमकल।

काठमाडौँ- मध्यबर्खामा खडेरी पर्दा मधेशको जनजीवन अस्तव्यस्त भएको छ। देशकै अन्नभण्डार मधेशमा पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन भने खानेपानीको हाहाकार भएको छ।

कृषि विभागले असार २९ गते सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। मधेशमा तीन लाख ७२ हजार ५४५ क्षेत्रफलमा धान रोपाइँ हुन्छ। विभागको विवरणमा एक लाख २५ हजार ८८८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको उल्लेख छ।

गत वर्ष यति बेला मधेशमा ६१.५ प्रतिशत रोपाइँ भएको थियो। खडेरी पर्दा पिउने पानीको स्रोत सुकेपछि ट्यांकर र दमकलको सहायतामा खानेपानी वितरण गर्न थालिएको छ। मधेशका केही सहरमा वारुणयन्त्रमार्फत खानेपानी वितरण भइरहेको समाचार आएका छन्।

प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव जयकुमार राउत खडेरी पर्न थालेपछि सबै जिल्लाबाट खानेपानीको माग हुने थालेको बताउँछन्।

उनले भने, ‘वारुणयन्त्र किनेर सेनालाई हस्तान्तरण गरिएको छ। सेनाले विभिन्न जिल्लामा वारुणयन्त्रमार्फत खानेपानी वितरण गरिरहेको छ। बारा-पर्सा मा त पानी परेकै छैन। पानी नपर्नाले मोटर-चापाकल सुकेका छन्। धान रोपाइँ भएकै छैन।’

जल तथा मौसम विज्ञान विभागले वैशाख १७ गते नेपालमा मनसुन भित्रिएको जनाएको थियो। विगतमा भन्दा बढी वर्षा हुने र २० लाख मानिस प्रभावित हुने अनुमान विभागको थियो। विभागले पूर्वानुमान गरेअनुसार पानी परेको छैन। अधिकांश स्थानमा खडेरी परेको छ।

मौसमविद् प्रतिभा मानन्धर मधेश र पूर्वी भूभागमा पानी नपरेको बताउँछिन्। कोशी, गण्डकी र लुम्बिनीको पूर्वी भूभागमा पनि अनुमानअनुसार वर्षा नभएको उनले बताइन्। उनी भन्छिन्, ‘तराई भूभागमा खडेरी छ। तत्काल पानी पर्ने सम्भावना देखिँदैन।’

नेपालमा सरदर १५ सय मिलिमिटर वर्षा हुन्छ। यसपटक यो आँकडाभन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो। मौसमविज्ञान विभागका अनुसार सरदर १८ सय मिलिमिटर वर्षा हुने भनिए पनि साउन सुरु हुँदासम्म वर्षा भएकै छैन।

यसपटक मनसुनको सम्भावना हिमाल र पहाडमा बढी छ। पानी पार्ने प्रविधि पनि धेरै सक्रिय नभएको मौसमविद् मानन्धरले बताइन्। ‘नेपाल भित्रिएको मनसुनी चक्र पनि कमजोर छ। यसले गर्दा तराई क्षेत्रमा पानी कम परेको हो,’ मानन्धर भन्छिन्, ‘मधेशका निश्चित भूभागमा त्यो पनि थोरै मात्रै पानी परेको छ।’

विभाग र मौसम पूर्वानुमान महाशाखाले मनसुनी असर बढी पर्ने भन्दै राज्य संयन्त्रलाई सहज गराएका थिए। वर्षा होइन अहिले पनि गर्मी बढेको छ। ‘वर्षा भइरहे पनि अनुमान गरिएजस्तो वर्षा भएको छैन,’ मौसमविद् मानन्धर भन्छिन्, ‘वर्षा नभएको होइन तर थोरै भइरहेको छ।’

जलवायुविद् डा. धर्मराज उप्रेती नेपालको मधेश (दक्षिणी भाग) र भारतस्थित विहार (उत्तरी भाग) सधैँ हाईप्रेसर (तातो र चिसोको अनुपात) मा रहने बताउँछन्। ‘हाई प्रेसर भएको तातो हावा माथितिर जान्छ। जुन हावा उत्तर, पश्चिम वा दक्षिणतिर लाग्छ। तराईमा बढी गर्मी भएकाले यसपटक त्यो तातो हावा भ्याकुमजस्तो बन्यो र धेरैमाथि पुग्दा चुरेतिर र विहारतिर नै वर्षा गरायो,’ उप्रेती भन्छन्।

उप्रेतीका अनुसार बुधबार पनि यही कारण बंगालको खाडीमा उत्पन्न मनसुनी प्रणाली भारतको उडिसा हुँदै उत्तरतिर पुगेको थियो। ‘हाम्रो तराई बेल्टमा हावाको गति बढी भएकाले वर्षा नभएको हो’, उनले भने।
समुद्र सतहको तापक्रम र हिन्द महासागरको न्युटल तापक्रमसँग एलमिनोको तालमेल नमिलेकाले पनि मधेशमा वर्षा नभएको उनी बताउँछन्। उप्रेती भन्छन्, ‘हाई प्रेसर भूभाग तराईमा वर्षा हुन सकेको छैन। जुन वर्षा उत्तरतिर भइरहेको देखिन्छ।’

उप्रेतीले पनि मधेशमा केही दिन ठूलो पानी पर्ने सम्भावना नदेखिएको बताए। आउँदोे आइतबार राति र सोमबार दिउँसो ठूलो वर्षा हुने अनुमान छ। उनले भने, ‘आइतबार पूर्वी भूभागमा मध्यम वर्षा र सोमबार पश्चिमी भूभागमा भारी वर्षा हुने अनुमान छ।’

विज्ञको प्रश्न- मधेशमा विपत् भन्ने कि नभन्ने?

मौसम तथा जलवायुविज्ञहरू पछिल्लो समय मनसुनी प्रणाली फेरिएको बताउँछन्। मनसुनी प्रणाली फेरिँदा मनसुन नाप गर्ने यन्त्र-उपकरणको समेत अनुमान गलत हुन थालेको छ।

असोज १० देखि १२ सम्म भएको वर्षाले समेत खतराको संकेत देखाएको उनीहरूको बुझाइ छ। एकातिर मनसुनी वर्षा नहुनु र अर्कातिर हिमपात फुट्नुले भविष्यमा झनै खतरा हुने अनुमान उनीहरूले गरेका छन्।

जलाधारविज्ञ मधुकर पाध्या यतिबेला खडेरीले मधेशमा विपत् निम्त्याएको बताउँछन्। राज्यले भने यसलाई गम्भीर रूपमा नलिने उनले बताए। उनको बुझाइमा विपत्पछि राहत बाँड्ने तर विपत्को कारण पत्ता नलगाउँदा संकट बढेको छ। ‘हामीमा सबै कुराको दोधार छ। बाढी आएकालाई विपत् भनिन्छ तर खडेरीले मधेशमा हाहाकार छ। त्यसलाई विपत् भन्ने कि नभन्ने?’ उनको प्रश्न छ।

दुई वर्षपहिले पाँचथरमा खडेरी परेपछि अनेक दबाबका कारण प्रदेश सरकारले राहतस्वरूप नगद वितरण गरेको स्मरण गर्दै जलाधार विज्ञ पाध्या भन्छन्, ‘असोजको वर्षालाई राज्यले सामान्य रूपमा लियो तर यो गम्भीर विषय हो। मेधशको खडेरीलाई गम्भीर रूपमा लिनु हुँदैन।’

खानेपानी वितरणमा प्रदेश सरकारको सक्रियता

प्रदेश सरकारले वीरगन्जसहितका मधेशका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ। प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र वीरगन्जमा पठाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिएका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजंग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्न थालेको राससको कुराकानीमा बताएका छन्।

प्रकाशित: १ साउन २०८२ १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast