प्रचार बिनाको आयुर्वेद चिकित्साको फाइदैफाइदा

हिमाल प्रेस १ साउन २०८२ ६:४८
4
SHARES
प्रचार बिनाको आयुर्वेद चिकित्साको फाइदैफाइदा

बागलुङ- बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दैछन्। समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन्।

पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ पनि चासो बढ्न थालेको छ। धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको संख्याले यस्तै देखाउँछ।

पछिल्लो तथ्यांकअनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकामा आर्थिक वर्ष २०८१/८२ मा उक्त संख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद् पन्थीले जानकारी दिए।

उनका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको बिरामीको संख्यालाई हेर्दा बर्सेनि बिरामीको संख्यामा वृद्धि भएको पाइएको र आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको छ।

गत आर्थिक वर्षमा जिल्लाभर रहेका नौ वटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा बिरामीको संख्या ३० हजार ४७८ रहेकामा आव २०८१/८२ मा ३६ हजार ४९५ पुगेको छ ।

आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना डाक्टरले सेवा दिइराखेको र आयुर्वेद औषधि उपचारमा नागरिकको भरोसा बढ्दै गएका कारण बिरामीको संख्यामा वृद्धि भएको पन्थीको भनाइ छ।

‘हामीले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगको निम्त्याइरहेको छौँ । खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा आफूलाई स्वस्थ बनाउन सक्छौँ । शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्त्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वास्थ्य बलियो हुन्छ, आयुर्वेद उपचार पद्धति रोगको जरासम्म पुग्ने उपचार पद्धति रहेकाले नागरिकको भरोसा बढ्दै गएको छ।’

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसी पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्दै गएकाले आयुर्वेदको मर्मअनुसार जीवनशैली अपनाउन आवश्यक रहेको बताउँछन्।

‘सन् १९९० मा सर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढी थियो, पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ’, उनले भने, ‘स्वस्थ र अर्ग्यानिक खानेकुरा खाने र नियमित शारीरिक व्यायामले नसर्ने रोगबाट बचाउन सकिन्छ । आयुर्वेदले यसका लागि सहयोगी भूमिका खेल्छ।’

डा पन्थी बदलिँदो अवस्थाअनुसार विभिन्न रोग व्याधि बढ्दै गएका अवस्थामा आयुर्वेद उपचारको उपयोगिता बढ्दै गएका, तर प्रचारप्रसारको अभावमा अझै व्यापकता पाउन नसकेको बताउँछन्। उनी भन्छन्, ‘आयुर्वेदको महत्त्व र फाइदा धेरै छ, तर यसको पर्याप्त प्रचार हुन सकेको छैन । त्यसैले यसको उपयोगिताबारे व्यापक प्रचारको आवश्यकता छ। रासस

प्रकाशित: १ साउन २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast