खाँणको कोइराला निवास यात्रा : गुट परिवर्तनसँगै रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवार बन्ने संकेत

विवेक विवश रेग्मी ३२ असार २०८२ १९:३८
432
SHARES
खाँणको कोइराला निवास यात्रा : गुट परिवर्तनसँगै रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवार बन्ने संकेत

इटहरी– नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान विराटनगरस्थित डा. शेखर कोइरालाको निवासमा पुगे। कांग्रेस पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिएका खाँण एकाएक कोइराला निवासमा पुगेको समाचार बाहिरिएसँगै कांग्रेस वृत्तमा खाँणले गुट परिवर्तन गर्न लागेको चर्चा हुन थालेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेपछि पार्टी सभापति देउवासँग खाँण असन्तुष्ट बनेका थिए। त्यही बेलादेखि नै सभापति देउवासँग उनको सम्बन्ध चिसिएर कोइराला समूहसँग नजिक बनेको चर्चा चलेको थियो। भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेला खाँणलाई भेट्न नेता कोइराला आफैँ कैयौँपटक हिरासतमा पुगेका थिए। भुटानी शरणार्थी प्रकरणमा खाँणलाई फसाउन कांग्रेसको संस्थापन पक्षकै केही नेताले भूमिका खेलेको उनीनिकटहरूको बुझाई समेत छ।

भूटानी शरणार्थी प्रकरणबेला देखि संस्थापनसँग टाढिएका खाँण कोइराला समूह निकट बन्दै गएको आँकलनहरू भएका थिए। डा. कोइराला निवासमा पुगेपछि खाँणले पत्रकारहरूसँगको कुराकानीका क्रममा आफू कोइराला समूहमै प्रवेश गरिसकेको नबताए पनि गुट परिवर्तनको संकेत भने गरे।

‘कोइराला निवास कुनै गुट विशेषको केन्द्र होइन, यो कांग्रेसका महामानवहरूको स्मृति बोकेको पवित्र स्थल हो,’ उनले भने, ‘निवासलाई पार्टीको गुटको रूपमा हेर्नु हुँदैन। यो हाम्रा लागि धार्मिकस्थलझैँ पवित्र हो।’

यसअघि उनले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद कोइरालालाईसमेत स्मरण गरे।

उनले अघि भने, ‘पार्टी नेता शेखर कोइराला यो निवासमा बस्नुहुन्छ। तर यहाँ पहिले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, बुबा कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो। यहाँ सबै कोइरालाहरूलाई सम्झनुपर्छ, उहाँहरूसँग भावनात्मक सम्बन्ध छ।’

उनले पार्टीभित्र अनुशासनको नाममा भइरहेको कारबाही प्रक्रियाप्रति पनि असन्तुष्टि जनाए। भने, ‘कुनै पनि जिम्मेवार समिति पक्षपातपूर्ण र एकतर्फी हुनुहुँदैन। कांग्रेस कमजोर हुँदा त्यसको असर लोकतान्त्रिक प्रणालीमै पर्छ।’

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। राप्रपाबाट निर्वाचित सांसद बोहराको निधनपछि दलहरूले उम्मेदवार खोजिरहेका छन्।

यसैबीच रुपन्देही ३ मा उपनिर्वाचनमा उम्मेदवारी दिनेबारे नेता खाँणले संकेत गरे। यद्यपि, उनले प्रस्ट खुलाएनन्।

रुपन्देही ३ मा हुने उपनिर्वाचनमा कांग्रेसबाट तपाईँ उम्मेदवार हुने हो? भन्ने पत्रकारहरूको प्रश्नमा उनले मुस्कुराउँदै भने, ‘म अहिले मोरङमा छु।’

पार्टीको १५ औँ महाधिवेशनबारे पनि कार्यकर्ताले चासो लिइरहेका छन्। जसमा नेता खाँणले १४ औँ महाधिवेशन भएको पाँच वर्षभित्रमा १५ औँ महाधिवेशन हुने बताए। एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान रहेको उनले स्मरण गरे।

‘नेपाली कांग्रेसको विधानमा चार वर्षभित्रमा महाधिवेशन हुने व्यवस्था छ। विशेष परिस्थिति आयो भने एक वर्ष थपेर पाँच वर्षभित्रमा हुन्छ। ११ औँ, १२ औँ, १३ औँ र १४ औँ महाधिवेशन पनि एक वर्ष थपेरै गरेको हो,’ उनले भने, ‘त्यसकारण अहिले हाम्रो १५ औँ महाधिवेशन पनि नेपाली कांग्रेसको सबै तहको कार्यकाल एक वर्ष थपेर पाँच वर्षभित्र हुन्छ।’

यद्यपि, उनले अघिल्लो महाधिवेशन पनि समयमै हुन नसकेको उदाहरण दिँदै विधि र प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिए। महाधिवेशनमा डा. शेखरलाई सघाउने, नसघाउनेबारे प्रष्ट नखुलेका उनले महाधिवेशन सफल बनाउने भूमिकामा भने केन्द्रीय समिति र आफूहरू सक्रिय रहने उनले बताए।

‘पार्टीको कुन नेताले के पदमा उठ्ने भन्ने हाम्रो दोस्रो प्राथमिकतामा आउँछ,’ उनले भने, ‘महाधिवेशन सम्पन्न गर्ने भूमिकामा हामी क्रियाशील रहन्छौँ।’

खाँणले गुट परिवर्तनको स्पष्ट घोषणा नगरे पनि र उपनिर्वाचनमा उम्मेदवार बन्नेबारे स्पष्ट धारणा नदिए पनि उनले सोही संकेत गरेपछि कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ। खाँणले कोइराला निवासमा देखाएको सक्रियता, देउवाप्रतिको असन्तुष्टि, अनुशासनसम्बन्धी टिप्पणी र महाधिवेशनको धारणालगायतले उनले अब कोइराला समूहमै रहने संकेत गरेको मोरङका एक नेताले बताए।

कांग्रेसभित्र गुट फेरबदल सामान्य भए पनि खाँणको सक्रियता र कोइराला निवासको यात्रालाई गुट परिवर्तनको संकेतका रूपमा लिइएको छ। जसलाई चासोका साथ हेरिएको छ।

गृहमन्त्री रहेकै बखत २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खाँण २०८० वैशाख २७ मा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। पक्राउ परेपछि खाँणले पार्टी सभापति देउवासँग दूरी बढाएका थिए।

२०८० असार १ गते जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका खाँण २८ मंसिर ०८० मा उच्च अदालत पाटनको आदेशपछि ३० लाख धरौटीमा छुटेका थिए।

भुटानी शरणार्थी प्रकरणसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमै विचाराधीन अवस्थामा छ। मुद्दा विचाराधीन रहेकाले टिकट पाउन कठिन हुने नेताहरूको बुझाइ छ। तर उनीसँग भेट गरेका नेताहरूका अनुसार खाँणले संसद्मा फर्कन चाहेको संकेत दिएका छन्।

खासगरी देउवाका ‘भित्रिया’का रूपमा चिनिएका खाँणले ०४८ सालदेखि रुपन्देही ३ मा पटपकटक निर्वाचन जितेपछि ०७९ को निर्वाचनमा भने पराजित भए। हाल कांग्रेसका केन्द्रीय सदस्य रहेका उनी ‘कोइराला समूह’ मा जाँदा रुपन्देही ३ को उपनिर्वाचनको टिकट पाइने ‘आशा’समेत राखेको कांग्रेस वृत्तमा चर्चा छ।

पार्टीभित्र खाँणको कोइराला समूहप्रतिको झुकावले देउवा पक्षले एक ‘प्रभावशाली नेता’ गुमाउने नेताहरूको ठम्याइ छ। कोइराला निवासमा पत्रकार सम्मेलन गर्नु, अनुशासन समितिले गरेको कारबाहीप्रति असन्तुष्ट हुनु, महाधिवेशनको समयका बारेमा टिप्पणी गर्नु र उम्मेदवारीबारे छलफल नगर्नुका कारणले खाँण अब इतर अर्थात् समूहमा रहेको संकेत दिएका हुन्।

प्रकाशित: ३२ असार २०८२ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast