
बुटवल- रूपन्देही तिलोत्तमामा एकै घरबाट २३ वटा गोमन (कोब्रा) सर्पको बच्चा (बेबी कोब्रा) को उद्धार गरेपछि चर्चामा छन्- रुपन्देही तिलोत्तमा १ का सर्प उद्धारकर्ता विशाल पाण्डे। ३१ वर्षीय विशाल शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष खीमलाल पाण्डेका छोरा हुन्। खीमलाल तिनै व्यक्ति हुन्, जसले रुपन्देहीमा ११ वर्षअघिदेखि नै सर्प उद्धारमा निरन्तर खटिएका छन्।
बुबाले सर्पको उद्धार गरी संरक्षणमा लागेको देखेका विशालले पहिल्यै पनि सहयोग गर्ने गरेका थिए। तर सर्प संरक्षणमा समर्पित भएर लाग्ने सपना भने देखेका थिएनन्। जब विशाल २ वर्ष जापान बसेर फर्के, त्यसपछि बुबाको जिम्मेवारीलाई पूर्ण रूपमा सम्हालेका छन्। ‘पहिले बुबालाई नै खोज्थेँ, साढे ३ वर्षदेखि सर्पको उद्धारमा म र भाइ लागेका छौँ,’ उनले भने। बुबा खिमलाल त सर्प संरक्षणका गुरु नै भए।
विशाललाई भाइ विश्वासले पनि उत्तिकै साथ दिएका छन्। एक प्रकारले भन्दा यो परिवार नै सर्प संरक्षणमा जुटिरहेको छ। पाण्डे परिवारले असार २२, २३ र २४ गते रुपन्देहीको तिलोत्तमा-५, नयाँमिलमा एकै घरबाट २३ वटा कमन कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरेर नयाँ रेकर्ड कायम गरेका छन्।
घरधनी दिलराम अर्याललाई भान्सामा चिया पकाउँदै गर्दा कोब्राको बच्चाले डसेपछि कोब्रा भएको पत्ता लागेको थियो। अर्याललाई सर्पले टोकेपछि श्रीमती सरस्वती अर्यालले तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएर बचाए। घरमा सर्प देखिएपछि बेलुका ७ बजेतिर सर्प उद्धारकर्ता विशाल पाण्डे पु्गेर ढोकामा रहेको कोब्राको उद्धार गरेका थिए।
‘सुरुमा एउटा सर्पको उद्धार गरे पनि गल्ली र भान्सासम्म पुग्दा तीनवटा सर्प सल्बल्लाएको देखेँ,’ विशालले भने, ‘त्यसपछि भाइ विश्वासलाई बो लाएर उद्धार गरेको हुँ।’ उनका अनुसार भान्छा कोठाको फुटेको भागमा बसेर कोब्राले फुल पारेकाले त्यही बच्चा जन्मेको हो। विशालको समूहले पहिलो दिन ५ वटा र दोस्रो दिन १२ र तेस्रो दिन ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धार गरी जंगलमा लगेर छाडेको हो।
यहाँ माउ सर्प भने भेटिएन। ‘कोब्राको माउ नै आहारा खोज्दै घरमा आएको देखियो, यहीँ फुल पारेकाले यति संख्यामा कोब्रा भेटिनु सामान्य नै हो,’ विशालले भने, ‘तर एकैचोटि एउटै घरमा भेटिएको यो दुर्लभ संयोग हो।’ विशालका बुवा खिमलालले पनि १३ वर्षअघि सोही घरबाट ११ वटा कोब्राका बच्चाको उद्धार गरेका थिए। घरधनी दिलराम अर्यालको स्वास्थ्य अवस्था अहिले अहिले सामान्य छ। एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ मानिएको छ।
‘सम्भवत नेपालमै यति संख्यामा घरमा सर्प भेटिएको पहिलो घटना हो,’ एक दशकदेखि सर्पउद्धारमा संलग्न खीमलालले भने। उनले सर्प प्रकृतिको संरक्षक र वातावरण सन्तुलनका लागि समेत आवश्यक भएकाले यसको संरक्षणमा आफ्नो परिवार नै लागेको सुनाए। पछिल्लो समय उनले दुई छोराहरूलाई सर्प उद्धारको जिम्मा दिएका छन्।
‘मान्छे बचाउने र सर्प पनि बचाउने अभियानमा छौं, आफ्नो ज्यानको सुरक्षा समेत जोडिन्छ,’ उनले भने, ‘पछिल्लो समय छोराहरुलाई सर्प उद्धारमा खटिन्छन्।’ उनले पुस्तान्तरण गरेको समेत बताए।
त्यसो त विशालले २३ वटा कोब्रा लगत्तै पनि बुटवल-११, देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा पनि एकै दिन ८ वटा गोमन सर्पको उद्धार गरे। यति मात्रै होइन देवदह नगरपालिका-८, टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन सर्प भेटिए। तिनको पनि उद्धार गरी जंगलमा छाडेको विशालले बताए। उनका अनुसार असार महिनामा मात्रै विशालले २ सय सर्पको उद्धार गरी संरक्षण गरेका छन्।
बिहानमा जापानिज भाषा कक्षा समेत पढाउने विशाल वर्षायाम सुरु भएदेखि कात्तिक मंसिरसम्म सर्प उद्धारमै खटिन्छन्। ‘सर्प पनि हामीजस्तै प्राणी हो, यसको संरक्षण हामीले नै गनुृपर्छ’ विशाल भन्छन्। उनले सर्पको उद्धार र मान्छेलाई बचाउन सकेकोमा निकै गर्भ लाग्ने बताए। ‘सर्प उद्धार जोखिमको काम हो, तर मान्छेहरू डराइरहेको बेला उद्धार गरेर सर्पलाई जंगलमा छोड्दा छुट्टै आनन्द आउँछ,’ उनले भने।
त्यसो त पछिल्लो समय तराईका जिल्लाहरुमा सर्पको बिगबिगी नै छ। सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनुपरिरहेको छ। तर सर्पका बारेमा मानिसहरुमा शिक्षाको कमीका कारण पनि मृत्यु हुने गरेको सर्पसंरक्षणकर्मी कमल देवकोटा बताउँछन्।
उनले सर्पको विषय स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको बताए। ‘यो स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय हो, स्वास्थ्य, वातावरण र प्राणी संरक्षणको बिषय पनि हो,’ उनले भने, ‘सर्प संरक्षणबारे मानिसहरुमा सचेतना जरुरी छ।’ उनले सर्पले आफू असुरक्षित भएको ठानेपछि मात्रै मान्छेलाई डस्ने बताए।