
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूसँग भेटवार्ता भएको दुई दिनपछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गएको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जसपा नेपालका अध्यक्ष यादवसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा ओली र देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन जसपा नेपालका अध्यक्ष यादवसँग आग्रह गरेका थिए।
अध्यक्ष यादवले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेका कारण समर्थन फिर्ता लिएको बताएका छन्। सरकारबाट समर्थन फिर्ता लिनुपर्ने ११ कारण उनले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका छन्।
जसपा नेपालले सरकारमाथि लगाएका ११ आरोपहरू:
जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु।
भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु।
मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु। असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु।
संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु।
कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिबी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु।
स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु।
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
मधेश, थरूहट, किराँत- लिम्वुबानलगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु।
संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु
कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु।
बेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु।