बजेटको पानामा सीमित ३६ हजार शिक्षकको पेसागत सपना ‘बुटक्याम्प’

हिमाल प्रेस ३२ असार २०८२ १३:२७
3.7k
SHARES
बजेटको पानामा सीमित ३६ हजार शिक्षकको पेसागत सपना ‘बुटक्याम्प’

काठमाडौँ- बालविकास शिक्षक (ईसीडी) लाई बुटक्याम्पमा सहभागी गराउने सरकारी घोषणा बजेट वक्तव्यमै सीमित भएको छ। आव २०८१/०८२ को बजेट वक्तव्यको बुँदा १५९. मा प्रारम्भिक बालविकास शिक्षाको गुणस्तर वृद्धि गर्न बालविकासका एक हजार पाँच सय शिक्षकलाई बुटक्याम्पमा सहभागी गराइने उल्लेख छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको प्रारम्भिक बालविकास शाखाले आर्थिक वर्षको थालनी हुनेबित्तिकै बालविकास शिक्षकलाई बुटक्याम्पमा सहभागी गराउने तयारी पनि गरेको थियो।

तालिम सञ्चालनका लागि केन्द्रले सुनसरी, बारा, भैरहवा, धुलिखेल, तनहुँ, सुर्खेत र डोटीस्थित प्रदेश तालिम केन्द्रहरूसँग पत्राचार पनि गरिसकेको थियो। साथै ‘बुटक्याम्प कार्यक्रम संहिता, २०८१’ समेत जारी गरिएको छ। जसमा तालिमको उद्देश्य, विषयवस्तु, सहभागी छनोट, सामग्री, प्रशिक्षक र सञ्चालन प्रणालीलगायतका विवरण समेटिएका छन्।

शिक्षकहरूलाई तालिमका लागि निवेदन दिन पनि भनिएको थियो। नियुक्ति मिति, पहिले प्राप्त तालिमका विवरणसहितको निवेदन गत असोज १० गतेसम्म बुझाउन भनिएको थियो।

बालविकास शाखाका अधिकृत धर्म तिवारीले बजेट निकासा नहुँदा कार्यक्रम अघि बढ्न नसकेको बताए। उनले भने, ‘बजेट पनि धेरै चाहिने भएकाले त्यो कार्यक्रम भएन। प्राविधिक कारण पनि छ। चालु आर्थिक वर्षका लागि त्यो कार्यक्रम परेको छ। अघि बढ्छ  होला।’

बालविकास शिक्षकले भने सरकारले गरेको घोषणा कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखेका छन्। नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिकी अध्यक्ष कृष्णकुमारी थापा मगरले भनिन्, ‘बालविका शिक्षकलाई बुटक्याम्पमा सहभागी गराउने भनेर घोषणा गरियो तर कार्यान्वयन गरिएन। बाल विकास शिक्षकलाई जहाँबाट पनि झुक्याउने काम भइरहेको छ।’ उनले सरकार बाल विकासप्रति सकारात्मक नरहेको आरोप लगाइन्।

नेपालभर ३६ हजारभन्दा बढी बालविकास शिक्षक छन्। पेसागत स्थायित्वको माग गर्दै उनीहरूले पटकपटक आन्दोलन गर्दै आएका छन्। सरकारले सहमति गरे पनि उनीहरू न्यून तलबसुविधामा काम गर्न बाध्य छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast