
काठमाडौँ– फौजा सिंह अर्थात् टरबन्ड टरपेडो उपनामले चिनिएका धावकको ११४ वर्षको उमेरमा कारको ठक्करबाट निधन भएको छ। उनी विश्वकै सबैभन्दा वृद्ध म्याराथन धावक थिए।
भारतीय स्थानीय सञ्चारमाध्यमका अनुसार सिंहलाई सोमबार पञ्जाबको जालन्धर नजिकै रहेको आफ्नो जन्मगाउँमा सडक पार गर्दै गर्दा एउटा कारले ठक्कर दिएको थियो। घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। अस्पतालमा उपचारका क्रममा सिंहको निधन भएको उनको धावक क्लब र च्यारिटी संस्था ‘सिख्स इन द सिटी’ ले पुष्टि गरेको छ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फौजा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘उहाँ असाधारण हुनुको कारण उहाँको विशिष्ट व्यक्तित्व र भारतका युवाहरुलाई फिटनेसजस्तो महत्त्वपूर्ण विषयमा प्रेरणा दिने शैली हो।’
सिंह सन् २०११ मा टोरन्टोमा सम्पन्न म्याराथन दौडिएपछि पूर्ण म्याराथन दौडने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए। त्यतिबेला उनको उमेर १०० वर्ष थियो। उमेर प्रमाणित गर्ने जन्मदर्ता प्रमाणपत्र नभएकाले उनको कीर्तिमान गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा सूचीकृत भएन। सिंहसँग भएको ब्रिटिस पासपोर्टमा उनको जन्ममिति सन् १९११ अप्रिल १ लेखिएको छ भने भारत सरकारका अधिकारीहरूले दिएको पत्रमा सन् १९११ मा जन्म अभिलेख राख्ने चलन थिएन भनेर उल्लेख गरिएको छ।
सन् २०१२ को लन्डन ओलम्पिकका मसालवाहकसमेत रहेका फौजा सिंहले ८९ वर्षको उमेरमा दौडन सुरु गरेका थिए। भारतमा पत्नी र छोराको अल्पायुमै निधन भएपछि शोकबाट मुक्त हुन उनले दौडलाई अपनाएका थिए।
विशेषगरी सन् १९९४ मा छोराको भयावह परिस्थितिमा भएको मृत्युले उनलाई अत्यधिक मानसिक चोट पुर्याएको समाचारमा उल्लेख छ।
फौजा सिंह र छोरा कुलदीप आँधीहुरीका बेला खेतमा गएका थिए। त्यही क्रममा तीव्र हावाले उडाएको जस्तापाताको टुक्राले कुलदीपको शिर उडायो। त्यो भयावह घटना फौजा सिंहकै आँखाअगाडि भएको थियो।
फौजा सिंहका अन्य पाँच सन्तान विदेशतिर बसाइँ सरेकाले कुलदीपको मृत्युपछि उनी एक्लै परेका थिए। ‘त्यो त्रासदीपूर्ण घटनापछि उनलाई आफ्नो जीवन बाँच्नै लायक लागेन’, उनका प्रशिक्षक हरमन्दर सिंहले समाचार एजेन्सी एपीसँग भनेका छन्।
त्यसपछि उनी आफ्ना कान्छा छोरासँग बस्न लन्डन गए। त्यहीँ खेलकुदप्रेमी सिंह सिख समुदायद्वारा आयोजित खेलकुद प्रतियोगितामा सहभागी हुन थाले र छोटो दुरीका दौडमा भाग लिन थाले। त्यही क्रममा उनले केही सिख म्याराथन धावकहरूसँग भेट गरेका थिए। उनीहरूले सिंहलाई लामो दुरीको दौड सुरु गर्न हौस्याएका थिए।
एक दिन टेलिभिजनमा म्याराथन हेरेपछि उनलाई आफू पनि त्यही क्षेत्रमा लाग्ने प्रेरणा जागेको थियो।
फौजा सिंहले पहिलोपटक सन् २००० मा ८९ वर्षको उमेरमा लन्डन म्याराथन दौडेका थिए। त्यसपछि उनले आठवटा म्याराथन पूरा गरे। सन् २००३ मा टोरन्टो म्याराथन उनले ५ घण्टा ४० मिनेटमा पूरा गरेका थिए।
‘एक त्रासदीबाट धेरै सफलता र खुसी प्राप्त भयो’, त्यति बेला सिंहले भनेका थिए। सिंहले आफ्नो अन्तिम प्रतिस्पर्धात्मक दौड सन् २०१३ मा १०१ वर्षको उमेरमा पूरा गरेका थिए। उनले हङकङ म्याराथनको १० किलोमिटर (६.२५ माइल) दुरी एक घण्टा ३२ मिनेट २८ सेकेन्डमा पूरा गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘उहाँ एक अद्वितीय खेलाडी हुनुहुन्थ्यो, जसमा असाधारण दृढ संकल्प थियो। उहाँको निधनले म दुःखी छु।’ एपीको सहयोगमा