
बुटवल- रूपन्देही-३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनौटका लागि आन्तरिक तयारीमा व्यस्त छन्। तर स्वतन्त्र उम्मेदवारको तयारीमा रहेका बालेन टिमका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका गाउँ घुमिरहेका छन्। गिरीले यहाँका जनताको मनोभावनासँगै जनताको अपेक्षाबारे विभिन्न व्यक्तिहरूसँग जानकारी लिने काम गरेका छन्।
निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा उपनिर्वाचनको मिति तय भएसँगै चुनावी सरगर्मी सुरु भएको हो। तिलोत्तमा नगरपालिका-६, पश्चिम पहुनीका स्थायी वासिन्दा ३३ वर्षीय गिरी केही दिनदेखि निर्वाचन क्षेत्र लक्षित गरी बुद्धिजीवी, राजनीतिज्ञ, किसान एवं सर्वसाधरणलाई भेटघाट गरिरहेका छन्।
हाल काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र) को सल्लाहकार टिममा रहेका उनले स्वतन्त्र उम्मेदवार हुने तयारीका साथ उपनिर्वाचन केन्द्रित गरी भेटघाटमा व्यस्त भएका हुन्। आफ्नो जन्मस्थान पनि रुपन्देही क्षेत्र नं. ३ मै पर्ने भएकाले स्थानीयको भावना र आवश्यकतालाई अझ नजिकबाट बुझ्न भेटघाटमा व्यस्त भएको उनी बताउँछन्।
उनले निर्वाचनलाई केवल चुनावदेखि चुनावसम्मका लागि मात्रै हुन नहुने बताउँदै आम नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्नुपर्ने मत राख्छन्। यही कुरालाई मध्यनजर गरी गिरी ‘ग्राउन्ड रियालिटी’ बुझ्न भन्दै मतदाताका घरदैलौमा पुगेका छन्। गिरीले बुटवल, भैरहवा क्षेत्रका विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्व, उद्योगी व्यवसायीसँग भेट गरेका हुन्।
यस्तै निर्वाचन क्षेत्रअन्तर्गत मायादेवी, शुद्धोधन र सियारीका गाउँहरू पुगेर किसान, स्थानीय नागरिक एवं सामाजिक अगुवाहरूसँग भेटघाट गरेका छन्। उनले वडातहसम्मै पुगेर भेटघाट र जनअपेक्षा बुझेका छन्। विद्यार्थी जीवनमा नेकपा एमाले निकटको अखिल राजनीतिबाट उदाएका गिरीले रूपन्देहीका जनताले परिवर्तन रोज्ने विश्वास गरेका छन्। कांग्रेस, एमाले लगायतका दलका नेताहरूले नै साथ दिने प्रतिबद्धता जनाउँदा गिरी उत्साही देखिएका छन्।
बालेन शाहको सचिवालयमा सल्लाहकारको भूमिकामा रहेका उनले स्थानीय शासन, नीति निर्माण र नवप्रवर्तनमा प्रत्यक्ष अनुभव सँगालेका छन्। गिरीको उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता र वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्वको रूपमा हेरिएको छ।
पछिल्लो समय युवा पुस्तामा बालेनको क्रेज देखिएको छ। गिरी सुरुदेखि नै राजनीतिक पृष्ठभूमिबाट आएकाले उनले उम्मेदवारी तयारीकै क्रममा जनताको भावना बुझ्न भेटघाटमा लागेको उनी निकटहरू बताउँछन्।
बालेन समर्थकहरूले रास्वपाको समेत साथ खोजेका छन्। यद्यपि गिरीले उम्मेदवारीको तयारी गरेसँगै रास्वपाका केन्द्रीय नेताहरूसँग संवाद भइरहेको बताइन्छ। गिरीले आफ्नो गृहजिल्ला समेत भएकाले अबको निर्वाचनबाट नयाँ पुस्ताको इन्ट्री हुनुपर्ने मत राख्दै आएका छन्।
कुनै बेला गिरी राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि देशैभर चर्चित भएका थिए। त्यस पश्चात उनले ८ वर्षसम्म देशव्यापी युवा सशक्तीकरणको अभियान समेत चलाएका थिए। संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले र उनी विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताका रूपमा प्रस्तुत भएका थिए। अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका गिरी नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत हुन्।
राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएसँगै रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको हो। २०७९ को निर्वाचनमा बोहोराले नेपाली कांग्रेसका नेता तथा तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए। निर्वाचनकै बेला बिरामी भएका बोहोरा २०८१ चैत १९ गतेका दिन निधन भएको हो।
बोहोराले चुनाव जिते पनि एकपटक पनि स्वास्थ्य अवस्थाका कारण संसदमा आफ्नो निर्वाचन क्षेत्रका विषयमा बोल्न पाएनन्। यो पटक राप्रपाले आफ्नो विरासत जोगाउन ठूलो चुनौती छ।
२०७९ मा बोहोरालाई नेकपा एमालेले साथ दिएको थियो। पार्टीहरूका तर्फबाट राष्ट्रिय जनमोर्चाका तर्फबाट बद्रे आलमलाई उठाउने घोषणा गरेको छ। दलहरूको तर्फबाट उम्मेदवार टुंग्याएको जनमोर्चाले मात्रै हो।
एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले आफैँले उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि एमालेभित्र आकांक्षीहरूको लर्को छ। नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहित रास्वपाले समेत उम्मेदवारको टुंगो लगाएका छैनन्। रास्वपाले उम्मेदवारका लागि आवेदन माग गरेको छ भने राप्रपा जिल्लाबाट ६ जनाको उम्मेदवारको नाम सिफारिस गरेको छ। मधेशवादी दलहरू आन्तरिक छलफलमा छन्। स्वतन्त्ररूपमा भने भैरहवाका अजय गुप्ता र बुटवल मोतिपुरका लेखनाथ गैरेले उम्मेदवारी घोषणा गरेका छन्।
रुपन्देही क्षेत्र न. ३ मा दक्षिणदेखि उत्तरसम्म फैलिएको छ। यो क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधन, मायादेवी र ओमसतिया गाउँपालिका समेटिएको छ।
नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका (बेलहियादेखि भैरहवा), शुद्धोधन गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन्। स्थानीय तहको परिणाम अनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ। एमालेले एक पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ। लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ।