
हरेक वर्ष विश्व वातावरण दिवस मनाइन्छ। ५ जुनमा विश्वव्यापी प्लास्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराको साथ मनाइयो। प्लास्टिकजन्य प्रदूषण विश्वको एक गम्भीर चुनौती बन्न पुगेको छ। नेपालमा बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण र गैरजिम्मेवार व्यवहारले फोहरमैला व्यवस्थापनमा समस्या छ। प्रदूषणको ठूलो हिस्सा प्लास्टिक हो। सडक पूर्वाधारको पहुँचसँगै आयातित सामग्री गाउँमा पुग्दा, गाउँका मानिसको उपभोग्य व्यवहार बददिएपछि स्थानीय उत्पादनभन्दा प्लास्टिक, बोतल वा सिसाबन्द खाद्य तथा पेय पदार्थको खपत बढेको छ।
गाउँघर र पहाडमा समेत जथाभाबी फोहरमैलाको समस्या विकराल बन्दै छ। गाउँघरमा मदिराजन्य र अन्य सिसाका बोतल, प्लास्टिकका झोला, बहुपत्रे प्लास्टिक खोल, पेय पदार्थका बट्टा ससाना चोक, बजार, सार्वजनिक र खुला स्थानमा छरपस्ट पाइन्छन्।
पहाडी र हिमाली क्षेत्रमा फोहरमैलाले पारेको जनस्वास्थ्य र पर्यावरणीय असरसम्बन्धी अध्ययन नभए तापनि जथाभाबी फोहर थुप्रिँदा ग्रामीण क्षेत्र र पहाडी बस्तीमा माटो, हावा र पानीमा प्रदूषण बढेको देखिएकै छ। यसको मूल स्रोत प्लास्टिक र सिसाजन्य सामग्री हो। प्रदूषणले हाम्रो गाउँसहर, सम्पदा र सार्वजनिक स्थल मात्रै कुरूप पारेको छैन वरपरको जमिन, पानीका स्रोत र सास फेर्ने हावासमेत प्रदूषित बनाई मानव स्वास्थ्य, जीवजन्तु, जैविक विविधता र पर्यावरणीय सन्तुलनमा हानि पुर्याइरहेको छ। यसले हाम्रो संस्कार, सभ्यता र व्यवहारलाई समेत गिज्याइरहेको छ। व्यक्ति, समुदाय, निजी क्षेत्र र स्थानीय नियमनकारी निकाय प्रदूषण नियन्त्रणमा जिम्मेवार नबन्दा फोहरमैलाको दुर्गन्ध अब ग्रामीण बस्ती, पहाड र हिमालको चुचुरासम्म उक्लँदै छन्।
भौगोलिक रूपले सानो तर विश्वकै अग्ला हिमाल भएको सुन्दर, संवेदनशील र विविधतायुक्त नेपाल साहसिक पर्यटनमा विश्वको आकर्षक गनतव्य हो। प्राकृतिक मनोरम दृश्यका साथै विविधतायुक्त भूगोल, विविध संस्कृति र सरल जीवनपद्धतिमा रमाएका मानिसहरूको ग्रामीण जीवनशैली नै पर्यटकहरूको प्रमुख रोजाइ बनेका हुन्। पछिल्ला केही दशकमा विश्व तापमान वृद्धि र जलवायु परिवर्तनको असरले पर्यावरणीय रूपले संवेदनशील हाम्रा हिमालमा अत्यधिक हिँउ पग्लँदा हिमाल आरोहण, पैदलयात्रा र सहासिक हिमपर्यटन बिस्तारै खुम्चिँदै गइरहेको छ। त्यसमाथि प्रदूषणको सास्तीले थप जटिलता बढाइरहेको छ।
विश्व तापमानले हिमाल नांगो हुँदा त्यस क्षेत्रको सुन्दरता नाश हुनुका साथै त्यसमा निहित प्राकृतिक स्रोत, जीवजन्तु, जैविक विविधता र पर्यावरणको विनाश हुँदै छ। हिमाली भेगका नागरिकको जीवनशैली, आर्थिक गतिविधि, जीवन र जीविकामा समेत संकट उत्पन्न भएको छ। जताततै फैलिएको फोहरमैलाको अव्यवस्थाले नेपालको मौलिक पहिचान र जिम्मेवारपूर्ण व्यवहार विश्वसामु नकारात्मक तवरले फैलिँदै छ। हिमालमा समेत बढ्दै गइरहेका फोहरमैलाले त्यस क्षेत्र थप दुर्गन्धित, थप असुरक्षित र थप चुनौतीपूर्ण बन्दै छ। जसमा प्लास्टिक, सिसा र बोतलजन्य फोहरको सबैभन्दा ठुलो हिस्सा रहेको छ। महत्त्वपूर्ण कुरा यसरी बढ्ने प्रदूषणले विश्व तापमान बढाउन योगदान गर्दछ। जसले हिमालको पग्लने दर उच्च बनाउँछ। हिमाली क्षेत्रमा फोहरमैला थुप्रँदा बाढीले ल्याउने जोखिम बढ्ने, प्लास्टिक फोहर जलाउँदा श्वासप्रश्वास र आँखामा समस्या देखिने विश्व बैंकको एक अध्यनले देखाएको छ। यसले अर्थतन्त्रको प्रमुख वाहक पर्यटन क्षेत्रलाई नकारात्मक असर गर्दछ।
हिमाल आरोही, पैदलमार्गी, भरिया, पर्यटन व्यवसायी र स्थानीय समुदायले गर्ने फोहरमैलाको उचित व्यवस्थापन नगर्दा हिमालमा समेत फोहरको डंगुर बढ्दै छ। सर्वोच्च शिखर सगरमाथामा थुप्रिएको फोहर सफा गर्न वर्षौँ लाग्न सक्ने सरसफाइ अभियानमा खटिएका आङबाबु शेर्पाले बताएका छन्। उनका अनुसार दक्षिण कोलतर्फ मात्रै करिब ४०/५० टन फोहर थियो। जुन सगरमाथा आरोहण गर्न जाँदाका बन्दोबस्तीका सामग्री हुन्। यस्तै अवस्था अन्य हिमालको पनि छ। सफा हिमाल अभियानले २०८० सालमा सगरमाथा, लोत्से, अन्नपूर्ण र वरुण हिमालबाट ४५ दिनमा ३४ हजार एक सय ६६ किलो फोहर संकलन गरेको थियो।
हिमाली क्षेत्रमा फोहरमैला आरोहणमार्ग, आधार शिविर, पदमार्ग र आसपासका स्थानमा अव्यवथित तवरले राखिन्छ। यसबाट फोहर खोँचमा वा हिम नदीमा मिसिन पुग्दछ। नदीमा मिसिएको फोहर अन्तत: समुद्रमा मिसिन पुग्छ। फोहर अब सगरमाथादेखि सागर (माउन्टेन्स टु मरिन्स) सम्म फैलँदै छ। हिमाली क्षेत्रमा धेरैजसो फोहर जलाउने गरिएको स्वच्छ सफा नेपाल नामक गैरसरकारी संस्थाको अध्ययन प्रतिवेदनमा उल्लेख छ। स्थानीय समुदायले मात्र हैन प्राय: स्थानीय सरकारकै अगुवाइमा निश्चित ठाउँमा जम्मा गरेर वा ल्यान्डफिल्डमा लगेर प्लास्टिक फोहर जलाउने कार्य भइरहेका छन्। फोहर व्यवस्थापनको यो अव्यवस्थित र जोखिमपूर्ण अभ्यासले वातावरण प्रदूषण, जीवजन्तु, मानवस्वास्थ्यमा प्रतिकुल असर त गरेकै छ। विश्व तापमान वृद्धि र जलवायु परिवर्तनको दरलाई बढाउँदै छ। साथै नेपालको कुल गार्हस्थ उत्पादनमा ६.६ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्रलाई अझ नकारात्मक असर गर्दै छ।
नेपालको संविधान २०७२ अनुसार फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने तोकिएको छ। स्थानीय तहको कमजोर प्रतिबद्धता, स्रोत, प्रविधि तथा जनशक्ति अभावले फोहर व्यवस्थापनको कार्य प्रभावकारी ढंगले हुन सकिरहेको छैन। काठमाडौँलगायत देशका प्रमुख सहरमा फोहरमैला व्यवस्थापन स्थानीय सरकारको सबैभन्दा पेचिलो सवाल त बनेको छ नै व्यक्ति, परिवार, नागरिक र निजी संस्था र समुदायसमेत सचेत र जिम्मेवार नहुँदा फोहर व्यवस्थापन कार्य प्रभावकारी हुन सकेको छैन। ग्रामीण क्षेत्र र पहाडमा फोहरमैला र प्रदूषणले पारेको असरबारेमा खास ध्यानै पुगेकै छैन।
विश्वको चिस्यान केन्द्र भनेर चिनेने हाम्रा हिमालको फोहर व्यवस्थापनका नीतिगत अलमल, आर्थिक अभाव र केन्द्र र स्थानीय सरकारको चेपुवामा छन्। (बीबीसी, २०१९) यस्तो परिवेशमा जलवायु संवेदनशील हिमाली क्षेत्रको दिगो फोहर व्यवस्थापनका लागि नीतिगत अलमल हटाउँदै स्थानीय समुदाय, पर्यटन व्यवसायी, पर्यटन श्रमिकहरू, स्थानीय सरकार र नागरिक संस्थाहरूको एकीकृत पहलमा सूचना, सचेतना, क्षमता विकास आवश्यक सरसफाइ अभियान गरिनुपर्दछ। यस्तो अभियानमा स्थानीय महिला, युवा, आदिवासी जनजाति समुदायको सहभागिता र नेतृत्वमा फोरहमैला व्यवस्थापन र वातावरण संरक्षणमा क्रियाशील संरक्षणकर्मी, नागरिक संस्था र सुरक्षाकर्मीहरूको संयुक्त पहलमा गर्न सकिन्छ।
पहाडी र हिमाली क्षेत्रको फोहर व्यववस्थापन खर्चिलो, प्राविधिक रूपले जटिल अनि जोखिमपूर्णसमेत भएकाले राष्ट्रकै गौरवपूर्ण हिमालहरूको स्वच्छताका लागि संघीय सरकारले विशेष नीति र कार्यक्रम बनाउनुपर्दछ। सिसा र प्लास्टिकजन्य फोहर वातावरणीय हिसाबले सबैभन्दा जोखिमपूर्ण हुन्छन्। यसको प्रभावकारी व्यवस्थापनले मात्रै हाम्रो वरपरको जमिन, पानी र हावा स्वच्छ र सफा बनाउन मद्दत गर्दछ। हिमालहरू फेरि सफा हुन सक्छन्। यस कार्यले नेपाल सरकारले विश्वसामु जलवायु परिवर्तनसम्बन्धी गरेका प्रतिबद्धताको पुष्टि मात्र गर्दैन कि बरु हिमाल बचाउन नेपाल सरकारले यसै वर्ष सम्पन्न गरेको सगरमाथा संवादको महत्त्व र औचित्यलाई समेत स्थापित गर्नेछ।
सरकारले फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ सुझावका लागि खुला गरेको छ। विधेयक फोहर व्यवस्थापनमा स्थानीय तह मातहत नपरेका हिमाली क्षेत्र, संरक्षित क्षेत्रलगायतमा फोहर व्यवस्थानबारे मौन छ। प्लास्टिकजन्य फोहरमैला सहरमा मात्र नभएर पहाड र हिमालमा समेत फैलिएको सन्दर्भमा सहर केन्द्रित सचेतना, नीति, कार्यक्रम र योजनाहरूका साथै गाउँ र हिमाली क्षेत्रहरूमा समेत केन्द्रित गर्न जरुरी छ।
सार्वजनिक निजी साझेदारीमार्फत प्लास्टिकजन्य फोहरको न्यूनीकरण, पुन: उपयोग र पुनःचक्रणको अवधारणाअनुसार समुदायको सहभागितामा फोहरबाट मोहर अथवा आम्दानी बढाउँदै जिम्मेवार नागरिक र व्यवसायकर्ताको दायित्व पूरा गर्नुपर्दछ। संघीय सरकारले अन्य तहका सरकारहरूले गरेका अभ्यासलाई समीक्षा गरी कार्यान्वयनमुखी नीति, कार्यक्रम र योजना बनाउनुका साथै फोहरमैला व्यवस्थापनलाई व्यावसायिक सामाजिक दायित्वको अभिन्न अंग बनाउनुपर्छ। अनि मात्रै विश्वबाट प्लाटिक प्रदूषणको अन्त्य गरौँ भन्ने विश्वव्यापी अभियानमा योगदान हुन सक्छ।
(नेपाली भूमिअधिकार तथा जलवायु अभियन्ता हुन्। )