
काठमाडौँ- नेपाली क्रिकेट विश्वभरि अत्यधिक समर्थकको माया बटुल्न सफल टिमका रूपमा चिनिन्छ। सन् २०२४ को विश्वकप टी-२० पछि चर्चाको शिखरमा पुगेको नेपाली टोलीले देश विदेशमा प्रशंसकहरू जोड्न थालेको छ। यसैक्रममा, क्यानडामा रहेर नेपाली क्रिकेटलाई निरन्तर समर्थन गर्दै आएका छन् किरोज श्रेष्ठले।
नेपालीज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) का अध्यक्षसमेत रहेका श्रेष्ठले सन् २०२२ मा पहिलोपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडामा आमन्त्रण गर्दै मैत्रीपूर्ण खेलको आयोजना गराएका थिए। किरोजको पहलमा नेपाली टोलीले क्यानाडाली टोलीसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली खेलकुद इतिहासमा नयाँ अध्याय थप्न सफल भयो।
सन् २०२४ मा नेपाली टोलीको क्यानडा भ्रमणका क्रममा किरोजले सामाजिक उत्तरदायित्वसमेत जोड्न सके। टोलीले क्यानाडाको फुड बैंकमा खाद्यान्न दान गर्दै मानवीय सेवामा सक्रियता देखायो। त्यसैवर्ष, क्यानडामा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता दौरान किरोजले नेपाली समुदायका अग्रजहरूलाई निःशुल्क भिआइपी सिटको व्यवस्था गर्दै सम्मान जनाएका थिए।
नेपाल र क्यानडाबीचको प्रतिस्पर्धात्मक खेलमा कप्तान रोहितकुमार पौडेललाई ‘म्यान अफ द म्याच’को उपाधि प्रदान गर्ने अवसर किरोजले पहिलोपटक नेपाली नागरिकको हैसियतले पाएका थिए। यसअघि, सन् २०२३ मा पनि उनले क्यानाडास्थित नेपाली डायस्पोरालाई समेट्दै क्यानाडा क्रिकेट टोलीलाई भव्य बिदाई कार्यक्रम आयोजना गराएका थिए। हाल किरोज श्रेष्ठ एनआरएनए क्यानडाको अध्यक्ष पदमा उम्मेदवार छन्।