
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीबारे केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताएकी छन्। मदन भण्डारीको ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिका सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले उक्त कुरा बताएकी हुन्।
भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर आफूले पार्टीमा रहेर सक्रिय राजनीति गर्न लागेको पनि बताइन्। पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक सक्रियताबारे असार १४ गते नै स्पष्ट पारेको पनि बताइन्।
भण्डारीले भनिन्, ‘पार्टीभित्र कुन संरचनामा के भूमिका भन्ने कुरा महाधिवेशनअघि केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ।’ भण्डारीले पार्टीमा थुप्रै योग्य व्यक्तिहरू रहेको बताइन्।
भण्डारीले विधान महाधिवेशनका प्रतिनिधिबारे पार्टीले निर्णय गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘जिल्ला अधिवेशनबाट पनि अहिले नयाँ नेतृत्व आएको छ। १० औँ महाधिवेशनमा उनीहरू थिए कि थिएनन्?’
जनसंगठनमा पनि अधिवेशन भएको बताउँदै उनले नयाँको प्रतिनिधित्व कसरी हुन्छ भन्ने कुरा केन्द्रीय कमिटीको छलफलको विषय हुने स्पष्ट पारिन्। उनले विधान महाधिवेशनमा आफ्नो उपस्थिति कुन रूपमा हुने भन्ने पनि पार्टीले निर्णय गर्ने बताइन्। भण्डारीले भनिन्, ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ उहाँहरूमै भर पर्ने हो।’
पूर्वराष्ट्रपति भण्डारीले विगतमा कुनै दबाबमा परेर आफूले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगरेको दाबी गरिन्। उनले भनिन्, ‘संसद् विघटनको कुराले मलाई पछ्याइरहन्छ। म राष्ट्रपति हुँदा दुईपटक संसद् विघटन भएका छन्, कुनै दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई मैले कार्यान्वयन मात्रै गरेकी थिएँ। जे व्यवस्था छ, त्यहीअुनसार गरेकी थिएँ।’ उनले संसद् विघटन कसैको दबाबको विषय नभएको पनि बताइन्।
भण्डारी राष्ट्रपति हुँदा प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले दुईपटक संसद् विघटनको सिफारिस गरेका थिए। २०७७ पुस ५ र ०७८ जेठ ७ गते प्रधानमन्त्री ओलीले गरेको विघटनको प्रस्तावलाई भण्डारीले तत्काल कार्यान्वयन गरेकी थिइन्।