
काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी, काठमाडौँले देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गरी बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै राष्ट्रिय किताबखानाले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र ७५३ वटै स्थानीय तहहरूलाई यससम्बन्धी निर्देशन दिएको हो।
पत्रमा उल्लेख भएअनुसार स्थायी शिक्षकले आफ्ना साथै परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति तथा त्यसको स्रोत र विवरणसहितको फाराम सरकारको राजपत्रमा तोकिएको ढाँचामा भरेर संकेत नम्बरसहितको खाममा राखी तोकिएको मितिभित्र बुझाउनु पर्नेछ।
करार शिक्षक, अनुदान कोटा शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताले भने आफू कार्यरत स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ। सेवानिवृत्त भएका शिक्षकहरूले पनि आ.व. ०८१/८२ को विवरण बुझाउनु पर्नेछ। नयाँ स्थायी नियुक्ति पाएका शिक्षकलाई पनि विवरण बुझाउन अनुरोध गरिएको छ।
निर्देशनका पालना नगर्ने शिक्षक कानुनी कारबाहीको दायरामा पर्न सक्ने उल्लेख गर्दै राष्ट्रिय किताबखानाका उपमहानिर्देशक नन्दलाल पौडेलले जिम्मेवार निकायहरूलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।