
काठमाडौँ- चौतर्फी आलोचना र विरोधपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। घुस मागेको अडियो बाहिरिपछि विवादमा तानिएका गुप्ताले मंगलबार बिहान पुगेर राजीनामा दिएका हुन्।
मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडियो सार्वजनिक भएको छ। अडियोमा मालपोत कार्यालयका हाकिमको सरुवा रोक्न उनले ५३ लाख र भूमि आयोग अध्यक्ष बनाउन २५ लाख घुस मागेको सुनिन्छ।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ। उनको राजीनामापछि अब धेरैको चासो अख्तियारतर्फ केन्द्रित भएको छ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडियो सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका छन्। उनले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए।
गुप्ताले भने राजीनामा आफूलाई नखाएको विष लागेको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा मन्त्री गुप्ताले लेखेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको सिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु।’
उक्त प्रकरणमा प्रधानमन्त्री ओलीले सोमबार बालुवाटार बोलाएर गुप्तासँग सोधपुछ गरेका थिए। विवादमा तानिएपछि एमालेका जिम्मेवार नेताहरूले पनि गुप्ताको राजीनामा माग गरेका थिए।
एमाले नेता डा. राजन भट्टराईले घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर छानबिनमा सहयोग गर्दा सरकार, पार्टी र स्वयं उनका लागि हित हुने बताएका थिए।
कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका हुन्। एमाले सचिव योगेश भट्टराई अडियो छानबिनमा लानुपर्ने बताउँछन्।
मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ सार्वजनिक भएको छ। अडियोमा मालपोत कार्यालयका हाकिमको सरुवा रोक्न उनले ५३ लाख र भूमि आयोग अध्यक्ष बनाउन २५ लाख घुस मागेको सुनिन्छ।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ। अब अख्तियारले त्यो उजुरीलाई कुन रूपमा अगाडि बढाउँछ हेर्न बाँकी छ।
मन्त्री राजकुमार गुप्तासँग अडियो संवादमा बिचौलियाले भनेका छन्, ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला।’
मन्त्री गुप्तासँगको ‘घुस डिल’ अडिओ प्रकरणमा बिचौलियाले उल्लेख गरेको माझीकुना भन्ने ठाउँ पोखराको बेगनास तालमा पर्छ। यहाँ टिलिपिया जातको माछा पोलेर खान आन्तरिक पर्यटकको घुइँचो लाग्छ।
मन्त्री र नेकपा एमालेका नेताले समेत मन्त्री गुप्ताका विषयमा अनेक प्रश्न उठाएका छन्। आइतबारको सदनमा त अडियो प्रकरणकै विषयमा आधारित भएर सांसदहरूले बोले।
कांग्रेस नेता शेखर कोइरालाले मन्त्री क्वार्टरमा घुसको ब्रिफकेस छाड्दा समेत प्रधानमन्त्री मौन र प्रतिपक्षी दल साक्षी बनेको आरोप लगाएका छन्।
कांग्रेस महामन्त्री गगन थापाले पनि विवादास्पद मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताएका छन्। कांग्रेस सांसद ईश्वरी न्यौपानेले पनि मन्त्रीको अडियोको वास्तविकता खोजेकी छिन्। सत्तारुढ सांसदले समेत वास्तविकता खोजेका थिए।
एमालेका सांसद गुप्ता २०७९ सालको संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा-३ बाट निर्वाचित भएका थिए। गुप्ता २०८१ असार ३० गते गठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सामान्य प्रशासन नियुक्त भएका थिए।
घुस प्रकरणमा तानिए पनि ढिलो गरी राजीनामा दिनुमा एमालेकै केही नेताहरूको स्वार्थ रहेको एक नेताले बताए। एमालेका ती नेताले भने, ‘गुप्ता प्रकरणलाई ढाकछोप गर्न महेश बस्नेतलगायतका केही नेताको जोडबल थियो। तर अध्यक्षज्यू हटाउने पक्षमा नै हुनुहुन्थ्यो।’