नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल इजरायल भ्रमणमा

हिमाल प्रेस ३० असार २०८२ २१:३७
2
SHARE
नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल इजरायल भ्रमणमा

काठमाडौँ- नेपालबाट १४ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल औपचारिक भ्रमणका लागि इजरायल पुगेका छन्। इजरायलको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यहाँ पुगेका हुन्।

१२ देखि १८ जुलाईसम्मका लागि तय भ्रमणको प्रमुख उद्देश्य इजरायलको स्थानीय सरकार महासंघले आयोजना गर्ने प्रमुख वार्षिक कार्यक्रम ‘मुनि एक्सपो २०२५’ मा सहभागिता रहेको बताइएको छ। यो कार्यक्रम १५ देखि १७ जुलाईसम्म सञ्चालन हुनेछ।

प्रतिनिधिमण्डलमा नेपालको सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगका नीति तथा योजना विभागका वरिष्ठ अधिकारी र विभिन्न नगरपालिकाका प्रमुखहरू सहभागी भएका छन्।

सहरको व्यवस्थापन तथा नवप्रवर्तन विषयमा केन्द्रित कार्यक्रममा नेपालबाट यो स्तरको प्रतिनिधिमण्डल पहिलोपटक सहभागी भएको काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ।

‘मुनि एक्सपो’ इजरायलको सबैभन्दा ठूलो र प्रभावशाली कार्यक्रम ठानिन्छ जसमा विश्वभरका मेयर, नगरपालिका प्रमुख र नीति निर्माताहरू सहभागी हुन्छन्।

यस वर्षको ‘लोकल कम्पास’ नामक मुख्य विषयले संकट व्यवस्थापन, स्थानीय र राष्ट्रिय समन्वय तथा यहूदीविरोधी लडाइँ जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित रहनेछ।

नेपाली प्रतिनिधिमण्डलले १५० भन्दा बढी इजरायली तथा अन्तर्राष्ट्रिय कम्पनी र स्टार्टअपहरूसँग अन्तरक्रिया गर्दै नवप्रर्तनयुक्त नगरपालिकीय परियोजनाहरूको अवलोकन तथा अन्तर्राष्ट्रिय साझेदारी विकास गर्ने अवसर प्राप्त गर्ने दूतावासले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलले नोभा महोत्सवस्थलको भ्रमण पनि गर्ने बताइएको छ। यहाँ ७ अक्टोबर २०२३ मा हमास समूहले आक्रमण गरेर सयौँ नागरिकको हत्या गरेको थियो।। त्यही दिन किबुट्ज अलुमिममा १० नेपाली नागरिकको पनि हत्या भएको थियो।

हाल नेपाली युवा विपिन जोशीसहित ५० बन्धकहरू हमास समूहको नियन्त्रणमा रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast