
काठमाडौँ- मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको दुईथरी रातो किताब भेटिएको छ। सोमबार प्रदेशसभा बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले दुवै रातो किताब देखाएपछि यसको खुलासा भएको हो।
सांसदहरूलाई बाँडिएको रातो किताबमा भएका ७५५ मध्ये २९४ पाना गायब छ। गायब भएका पानामा करिब ८ हजार योजना रहेको बताइएको छ।
जसपा नेपालका संसदीय दलका नेता यादवले प्रदेशसभा बैठकमा दुवै रातो किताब देखाउँदै सरकारले ८ हजार योजना लुकाएको दाबी गरे।
बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई रातो किताब बाँडिएको थियो। सांसदहरूलाई बाँडिएको रातो किताब ४६१ पृष्ठको रहेको छ। यादवले प्रदेशसभा बैठकमा ७५५ पृष्ठको रातो किताब पनि देखाएका थिए। सरकारले आर्थिक अपराध गरेको भन्दै उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म प्रदेशसभा बैठक चल्न नदिने बताए।
त्यस्तै सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतोले ७५५ पृष्ठको रातो किताब नभेटिए संसद अवरूद्ध गर्ने चेतावनी दिए।
बजेटमा बिचौलिया हावी भएको र त्यसलाई सुधार्न कार्यदल गठन भएपछि वास्तविक रातो किताब लुकाइएको उनको भनाइ छ।
अर्थमन्त्री सुनिल यादवले ल्याएको बजेटमा विचौलियाको प्रवेश भएको आरोप लागेपछि छानबिन गर्न १४ सदस्यीय संसदीय समिति गठन भएको छ। यसअघि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा समिति बने पनि उनले समितिमा नबस्ने घोषणा गरेका थिए।
मण्डलले समितिको संयोजकबाट राजीनामा दिएपछि उपसभामुखको संयोजकत्वमा बनेको समितिले बजेट निर्माणमा भएको गडबडीबारे छानबिन गरिरहेको छ।