
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद् बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि क्रिकेट रंगशालाप्रति उठाएको विषयको सामाजिक सञ्जालमार्फत जबाफ दिएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्मा कीर्तिपुर क्रिकेट रंगशालाको फ्लडलाइट र प्यारापिटबारे प्रश्न उठाउँदै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले ती विषयमा सार्वजनिक रूपमा जवाफ दिएका हुन्।
ओलीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ- कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?’ मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
ओलीले प्रचण्डको कार्यकालको आलोचना गर्दै थप लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम।’
प्रधानमन्त्रीको रूपमा आफूले समय तोकेर योजनाहरू अघि बढाएको दाबी ओलीले गरे। उनी लेख्छन्,‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।’
यस्तो छ प्रधानमन्त्रीको ओलीको भनाइ
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?
मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।
तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।