
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देश लुटिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘मन्त्रिपरिषद्मा बसेर सरकार दुई ठूलाठूला पार्टी मिलेर देश लुटेर बस्ने अनि जनताले टुलुटुल हेरेर बस्नुपर्ने?’ लिङ्देनले दुई दलको यस्तो गतिविधि कदापि सह्य नहुने बताए। उनले भने, ‘यसको प्रतिवाद हुन्छ। हामी संसद्बाट पनि विरोध गरिहेका छौँ र आवश्यक पर्यो भने सडकबाट पनि यसको प्रतिवाद गरिन्छ।’
लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको सुशासन आयोग कहाँ छ भनेर प्रश्न गरे। उनले भने, ‘त्यसलाई आजजनता र देशले खोजिरहेका छन्।’
यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए। उनले भने, ‘मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ। नैतिकता छ भने सुशासनप्रति अलिकति मात्रै पनि प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन? मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने हो कि होइन?’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेको लिङ्देनले राजावादी र गणतन्त्र विरोधीलाई तह लगायौँ भन्ने डंका पिटेर सरकारले जनतालाई भ्रम छरिरहेको बताए। उनले भने, ‘छट्टु स्यालको कथा पो रहेछ। चिल आयो चिल आयो भन्ने अनि तल चल्ला टिप्ने।’
लिङ्देनले भिजिट भिसा प्रकरणका विषयमा दुई दलले आवाज उठाइरहेको बताए। उनले भने, ‘विदेश जाँदा मानिसहरू भिजिट भिसामै जाने हो तर भिजिट भिसाको नाममा जसरी रकम असुली भइरहेको छ, बेराजगार युवाहरूको रोजगारी खोज्ने चाहनामाथि कमाउने धन्दा सरकारको तर्फबाट सुनियोजित रूपमा भइरहेको छ। हामीले त्यसको विरोध गरेका हौँ।’
उनले अहिलेको समयलाई संसदीय इतिहासमा कालो समयका रूपमा चित्रित गरे। संसद्का दुई महत्त्वपूर्ण दलहरूले डेढ महिनादेखि संसद्मा विरोध जनाइराख्दा जबर्जस्ती चलाउने प्रयास भइरहेको उनले बताए। प्रतिपक्षी दलले उठाएको आवाजलाई सम्बोधन गर्न सभामुखले पहल गर्नुपर्ने लिङ्देनको भनाइ छ।