इन्द्र चौधरीद्वारा लिखित ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ को अनुसन्धानात्मक कृति सार्वजनिक

हिमाल प्रेस ३० असार २०८२ ११:४२
28
SHARES
इन्द्र चौधरीद्वारा लिखित ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ को अनुसन्धानात्मक कृति सार्वजनिक

काठमाडौँ- बाल साहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ। आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।

सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक धनगढीमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

कार्यक्रममा उपकुलपति जोशीले सुदूरपश्चिमको मुख्य जातिका रूपमा रहेका थारूहरूको लोकसंस्कृति र लोककथासम्बन्धि पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले भने,‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जातजातिका कला, संस्कृति, भाषा, परम्परालाई संकलन, अध्ययन, अनुसन्धान गरी प्रकाशनमा लागेको छ। यसपटक थारू जातिका संस्कृती र लोककथासम्बन्धी पुस्तक प्रकाशन गरेका छौं। आगमी वर्षमा हामी अन्य जातजातिका संस्कृतिलाई समेटिएका पुस्तक प्रकाशन गर्ने तयारीमा छौं।’ त्यसैगरी मन्त्री खड्काले पनि प्रतिष्ठानले गरेको कार्यलाई धन्यवाद दिए।

पुस्तकका लेखक चौधरीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफूलाई विश्वास गरी अध्ययनका लागि परियोजना कार्य दिएकोमा खुसी व्यक्त गरे। ‘प्रतिष्ठानले सुदूरपश्चिमका थारूहरूको संस्कृतिका बारेमा मलाई अध्ययन गर्ने अवसर दियो। यसका लागि प्रतिष्ठानका उपकुलपतिलगायत सिङ्गो प्रतिष्ठान परिवारलाई धन्यवाद दिन चाहन्छु’, उनले भने,‘आफ्नै प्रदेश सरकारसँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण कार्य गर्न पाएकोमा निकै खुसी लागेको छ।’ यसले आफूलाई अझै अध्ययन अनुसन्धानमा हौसला र प्रेरणा मिलेको उनको भनाइ छ।

चौधरीका अनुसार यस पुस्तकलाई तीन खण्डमा बाँडिएको छ। पहिलो खण्डमा थारू समुदायको परिचय, दोस्राे खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ। ‘यस पुस्तकको मुख्य उद्देश्य सुदूरपश्चिमका थारू लोककथाको संकलन गर्नु थियो,’ चौधरीले भने,‘यसमा सुदूरपश्चिमका थारूहरूका संस्कृतिका विविध पक्षलाई संक्षिप्तमा जानकारी दिने किसिमले समावेश गरिएको छ ।’

यस पुस्तक बीसओटा लोककथा समावेश गरिएका छन्। चौधरीका अनुसार यस पुस्तकमा सकेसम्म पहिले प्रकाशित नभएका लोककथालाई समावेश गर्न खोजिएको छ। उनले भने,‘मैले यस पुस्तक खासगरी अहिलेसम्म प्रकाशित नभएका लोककथालाई समेट्ने प्रयास गरेको छु।’ यस पुस्तकमा ७६ वर्षीय लौघरी डगौरा, ७८ वर्षीया कालीमैया डगौरा र ५५ वर्षीया रामप्यारी डगौराबाट लोककथा संकलन गरिएको अनुसन्धाता चौधरीले बताए।

चौधरीको यो ७ औं कृति हो। उनका यसअघिका कृति पनि थारू र रानाथारू जातिको लोकसंस्कृतिसँग नै सम्बन्धित छन्। यस पुस्तकमा उदीयमान कलाकार दीपक चौधरीले आवरण तस्बिर बनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast