
बुटवल- रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरिएको छ। राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय वसन्तविक्रम शाही, स्वाति थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलीपकुमार मल्लिकको नाम सिफारिस गरेको हो।
त्यस्तै बैठकले उपनिर्वाचनको तयारी गर्ने समेत निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिए बमोजिम सम्भावित उम्मेदवारहरूको नाम पठाएको हो।
यस्तै राष्ट्रिय जनमोर्चाले वामपन्थी नेता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उम्मेदवार बनाउने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही-३ को उपनिर्वाचनमा केन्द्रीय सल्लाहकार समेत रहेका आलमलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन्।
२०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा रुपन्देही-३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। बोहराले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले आउँदो कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ। मिति तय भएसँगै रुपन्देही-३ को उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनौट गर्न थालेका छन् भने कतिपयले उम्मेदवारी समेत घोषणा गरिसकेका छन्।