
काठमाडौँ- वैकल्पिक शक्तिका रूपमा मधेशमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पारिवारिक मोह र लोकतान्त्रिक प्रक्रियाको अवमूल्यनमा सक्रिय भएपछि दल गम्भीर आन्तरिक कलहमा फसेको छ। राउतले स्वतन्त्र मधेश गठबन्धन बेलादेखि जनमत पार्टी बनाउने महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूलाई एकपछि अर्को गरी पाखा लगाउन थालेपछि विवाद चुलिएको हो।
जनमतको कारबाहीमा नेताहरू अध्यक्ष राउत पारिवारवादको मोहमा फसेको र पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक लोकतन्त्रको घाँटी निमोठ्ने काम गरेको आरोप लगाउँछन्।
राउतनिकट नेताहरूले भने पार्टी हितविपरीत काम गरेकाले उनीहरूमाथि अनुशासनको कारबाही भएको दाबी गरेका छन्। स्वतन्त्र गठबन्धनदेखि जनमत पार्टी स्थापनासम्म भूमिका खेलेका उपाध्यक्ष दीपक साहमाथि राउतको कारबाहीको डन्डा चलेपछि आन्तरिक विवाद सतहमा आएको हो।
२०७९ सालको निर्वाचनमा अध्यक्ष राउतले तत्कालीन कोषाध्यक्ष सुरेन्द्र यादवलाई टिकट नदिई आफ्नो दाइ जयकान्त राउतलाई उम्मेदवार बनाएपछि जनमतभित्र विवाद सुरु भएको थियो।
राउत र कोषाध्यक्ष यादवबीच पछिल्लो संसदीय निर्वाचनदेखि ‘टकराव’ बढेको नेताहरूको भनाइ छ। यादवले पाउनुपर्ने टिकट राउतले दाजु जयकान्तलाई दिएपछि दुवै जनाबीच मनमुटाव भएको थियो।
दाजुलाई टिकट दिएपछि अनुशासन समितिका अध्यक्षसमेत रहेका तत्कालीन उपाध्यक्ष दीपककुमार साह, कोषाध्यक्ष यादवसहितका नेताहरू विरोधमा उत्रिएका थिए।
जनमतले केन्द्रीय अनुशासन समितिका अध्यक्षसमेत रहेका उपाध्यक्ष साहलाई ६ महिनाका लागि निलम्बन गर्दै कारबाही गर्यो।
साहले सूचनाको हक प्रयोग गर्दै असार १८ गते आफूलाई निलम्बन गर्ने निर्णयका आधारभूत प्रमाण, निर्णयको प्रतिलिपि, बैठकको निर्णय प्रक्रियालगायतका कागजात उपलब्ध गराउन निवेदन दिएका छन्। निलम्बन गर्नुपर्ने कारण र प्रमाण माग गर्दै निवेदन दिए पनि अहिलेसम्म पार्टीले उपलब्ध नगराएको साहले बताए।
साहपछि जनमतको कारबाहीको डन्डा कोषाध्यक्ष यादवमाथि चल्यो। आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै जनमतले उनलाई गत वर्ष फागुनमा निलम्बन गरेको थियो। कोषाध्यक्ष यादवमाथिको कारबाही निलम्बनसम्म मात्रै सीमित रहेन, उनीमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भयो। काठमाडौँको इमाडोलस्थित घर पार्टीको नाममा नामसारी गर्न नमानेको, हरहिसाबमा अनियमितता गरेकोलगायतका आरोप लगाउँदै जनमत पार्टीले ललितपुर प्रहरीमा उनीमाथि ठगी तथा आपराधिक विश्वाघात कसुरमा जाहेरी दिएको थियो।
पार्टीको कारबाहीमा परेर असन्तुष्टि चुलिएकै बेला अध्यक्ष राउतले दाइ जयकान्त राउत र दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनीत गरेपछि जनमतभित्रको विवाद तीव्र बनेको छ।
निलम्बित उपाध्यक्ष साहलगायतका नेताहरूले पार्टीभित्र परिवारवाद मौलाएको आरोप लगाएका छन्। पार्टी स्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कवीन्द्रसुरेन्द्रनारायण यादवलगायतका व्यक्तिहरूलाई उपेक्षा गर्दै पारिवारिक व्यक्तिहरू नेतृत्वमा ल्याउने परिपाटीले परिवारवाद संस्थागत बनाउने संकेत देखिएको साह बताउँछन्। उनले संगठनभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय गर्ने परिपाटी अन्त्य भएको आरोप लगाए।
कारबाहीमा परेका जनमतका नेताहरू यतिबेला ‘जनसंवाद यात्रा’ मा छन्। यात्राको नेतृत्व गरिरहेका छन् कारबाहीमा परेका उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, केन्द्रीय सदस्य सोनारलगायतका नेताहरूले।
पार्टीभित्र मौलाउँदै गएको परिवारवाद, आन्तरिक लोकतन्त्रको अभाव, निर्णय प्रक्रियामा पारदर्शिताको कमीलगायतका विषयमा जनतालाई जानकारी गराउने उद्देश्यले जनसंवाद यात्रा थालिएको निलम्बित उपाध्यक्ष साहले बताए।
‘जनताको न्यायका लागि लड्छौँ। पार्टीभित्र लोकतन्त्र र पारदर्शिता पुनःस्थापित गछौँ। विचार, आत्मसम्मान र वैकल्पिक नेतृत्वको नयाँ बाटो खोल्छौँ,’ साहले भने, ‘जनता मालिक हुन्, पार्टीभित्र भइरहेका गलत गतिविधिबारे उनीहरूलाई जानकारी गराउन यो यात्रा प्रारम्भ गरेका हौँ।’
जनमतको कारबाहीमा परेका नेताहरूले शुक्रबार रौतहटबाट ‘जनसंवाद यात्रा’ प्रारम्भ गरेका छन्। ‘जनसंवाद यात्रा’ लाई कतिपयले अध्यक्ष राउतविरुद्धको ‘विद्रोह’ को रूपमा हेरेका छन्।
‘संवाद यात्रा’ को अगुवाइ गरिरहेका साह स्वयंले पनि अध्यक्ष राउततर्फ इंकित गर्दै परिवारवादविरुद्ध र आन्तरिक लोकतन्त्र तथा पारदर्शिताबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम अघि बढेको बताउँछन्।
‘परिवारवाद मौलाएको छ। आन्तरिक लोकतन्त्र अन्त्य भएको छ। नेतृत्वको गल्तीलाई विरोध गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्,‘पार्टी निर्माणमा भूमिका खेलेका पुराना नेताकार्यकर्तालाई बाइपास गरेर नयाँलाई स्थापित गर्न खोजिँदै छ। यी सबै कुराबारे आमजनतालाई जानकारी गराउन हामी जनसंवाद यात्रामा निस्किएका हौँ।’
‘जनसंवाद यात्रा’ कै क्रममा रहेका बेला निलम्बित उपाध्यक्ष साहलगायतका नेताहरूमाथि आइतबार बारामा कालोमोसो छ्यापिएको छ।। कालोमोसो छ्याप्ने व्यक्ति थिए– जनमत अध्यक्ष राउतका निकट मानिने विकास सिंहलगायतका व्यक्तिहरू।
‘जनसंवाद यात्रा’ का क्रममा बाराको गढीमाई नगरपालिका-३ दहियाचोक पुगेका साहलगायतका नेताहरू सवार गाडीभित्र केन्द्रीय सदस्य सिंहले कालोमोसो छ्यापेका थिए। आफूहरूले थालेको ‘जनसंवाद यात्रा’ बाट जनतासमक्ष पार्टीभित्रको वास्तविकता बाहिरिने डरले अध्यक्ष राउतको निर्देशनमा यो काम गर्न लगाइएको साहको आरोप छ।
‘कार्यक्रमका लागि निस्किएका थियौँ। अध्यक्ष राउतनिकट विकास सिंहको नेतृत्वमा आएका केही मानिसले म गाडीभित्रै रहेको अवस्थामा कालोमोसो छ्यापे,’ साहले हिमालप्रेससँग भने, ‘संवाद यात्रा सुरु गरेपछि बाहिर ननिस्किन हामीलाई अध्यक्षबाट निरन्तर धम्की आइरहेको छ।’ उनले आफूहरूमाथि कालोमोसोका साथै प्रज्वलनशील पदार्थ पनि फ्यालिएको बताए।
‘सीके राउतले ज्यान मार्ने उद्देश्यले केही गुन्डा परिचालन गरेका छन्। हामीमाथि प्रज्वलनशील पदार्थ प्रहार गरिएको छ,’ उनले भने, ‘हामी सुरक्षित छौँ। हामी डराएर अभियानबाट भाग्नेवाला छैनौँ। यो अभियान निरन्तर जारी रहनेछ।’ उनले आफूहरूमाथि कालो छ्याप्ने सिंहलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएको बताएका छन्।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले कालोमोसो छ्याप्नेलगायतका गतिविधिलाई पार्टीले समर्थन नगरे पनि पार्टीविरुद्धको गतिविधिको प्रतिरोधको रूपमा लिएको बताए। ‘यस्तो गतिविधिलाई पार्टीले समर्थन त गर्दैन। तर अध्यक्ष र पार्टीविरुद्ध भइरहेका गलत कार्यको प्रतिकारस्वरुप कार्यकर्ताको प्रतिक्रिया हुनसक्छ,’ उनले भने।
जयकान्तलाई उपाध्यक्ष बनाउने निर्णयको विरोध गर्नेहरूमाथि समेत पछिल्लो समय जनमतले कारबाहीको डन्डा चलाएको छ। जनमतको कारबाहीमा केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार र कार्यकारिणी समिति सदस्य शम्भुनाथ साह परेका हुन्। दुवैजनाले जयकान्तलाई उपाध्यक्ष मनोनीत गर्ने निर्णयको विरोध गरेका थिए।
सीकेको कारबाहीमा परेकाहरू पछिल्लो समय गोलबन्द हुँदै गएका छन्। निलम्बित उपाध्यक्ष साह, निलम्बित कोषाध्यक्ष इन्जिनियर सुरेन्द्रनारायण यादवलगायका नेताहरू एउटै मोर्चामा उभिएका छन्। उनीहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’ थालेका छन्।
प्रवक्ता यादवले निलम्बित पदाधिकारीहरूले ‘जनसंवाद यात्रा’ का नाममा पार्टीमाथि रिस पोखिरहेको बताए। साहलगायतका नेताहरूले सुरु गरेको कार्यक्रम ‘जनसंवाद यात्रा’ नरहेको दाबी गरे। ‘उहाँहरू निलम्बित हुनुहुन्छ, पार्टीबाट निष्कासन भएको छैन,’ यादव भन्छन्, ‘कारबाहीमा परेको रिस पार्टीमाथि पोखिरहनुभएको छ, यो जनसंवाद यात्रा हुनै सक्दैन।’