
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको विस्तारित कार्यालयीय बैठक आज काठमाडौँको बबरमहलमा सम्पन्न भएको छ। आगामी साउन २ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले हिमालप्रेसलाई जानकारी दिइन्।
उनका अनुसार बैठकले ‘शैक्षिक आन्दोलन भाग-३’ आवश्यक भएको ठहर गरेको छ। बैठकले अघिल्लो आन्दोलन (गत माघ २०- वैशाख १७) प्रति सरकार गम्भीर नभएको ठहर गर्दै पुनः आन्दोलनको तयारी थाल्ने निर्णय गरेको हो। ‘हामीले ८९ दिनसम्म चरणबद्ध आन्दोलन गर्यौं, काठमाडौँमा मात्रै २९ दिन आन्दोलन गर्यौं। तर सरकारले आन्दोलनलाई बेवास्ता गर्यो, मर्म र भावनालाई लत्यायो,’ पराजुलीले भनिन्।
बैठकबाट सरकारले सहमति कार्यान्वयन नगरेको र शिक्षा ऐन जारी गर्नसमेत आलटाल गरेको निष्कर्ष निकालिएको छ। ‘सरकारले महासंघलाई खेलायो। नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले चाहेन,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘साउन ५ गतेसम्म यसअघि पक्षीकरण गरेका सबै पक्षलाई हामी आन्दोलनमा जाँदैछौं भन्ने सन्देश दिन्छौं। हामीले धेरै समय ‘पर्ख र हेर’को अवस्थामा बितायौं। सरकार षड्यन्त्रमा लागेको निष्कर्ष बैठकमा आयो। हामीसँग भएका सहमति पनि पूरा गरिएनन्, ऐनलाईसमेत पछाडि धकेल्ने प्रयास भयो,’ पराजुलीले भनिन्।
यो पनि
राहत शिक्षकले गरे सांसदको पुतला दहन, नो-भोट अभियान र सामूहिक अनशन घोषणा
शिक्षामन्त्रीलाई सहमतिका लागि समितिले दिएको ५ दिन सकियो, सहमति भएन, बैठक नै अनिश्चित