पाणिनि छन्दसाँझ २०८२ : छन्द कविता, संगीत र संस्कृतिको अनुपम संगम

हिमाल प्रेस २९ असार २०८२ १६:१०
126
SHARES
पाणिनि छन्दसाँझ २०८२ : छन्द कविता, संगीत र संस्कृतिको अनुपम संगम

काठमाडौँ- कागेश्वरी मनोहरा-९, पेप्सीकोलास्थित पाणिनि विद्यालयमा यस वर्षको ‘छन्दसाँझ’ कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीले नेपाली साहित्य, संगीत, नृत्य र संस्कृतिका विविध आयाम उजागर गर्दै छन्दमा आधारित कवितात्मक प्रस्तुति दिएका थिए। उनीहरूले महाकवि देवकोटा, राष्ट्रकवि र अन्य प्रसिद्ध कविहरूका छन्दोबद्ध कविताहरूलाई संगीतका साथ पस्किए।

बालबालिकाले नाटक र नृत्यकलाको पनि सशक्त प्रस्तुति दिएका थिए।

कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथिबाट दीप-प्रज्वलनपछि कक्षा १० का विद्यार्थीले मंगलाचरण प्रस्तुत गरे। त्यसपछि कक्षा १ र २ का बाबुनानीहरूले कवि माधवप्रसाद घिमिरे, रत्नविरही घिमिरे र श्यामप्रसाद शर्माका बालकविता गाएर सुनाए।

राष्ट्रगान र स्वागत मन्तव्यपछि सुरु भएका कार्यक्रममा अतिथिहरूको स्वागतका रूपमा प्रस्तुत ‘कुमारी-नृत्य’ समारोहको विशेष आकर्षण बनेको थियो।

पाणिनि विद्यालयको देवनागरी विभागका प्रमुख आचार्य रोहिणीराज तिमिल्सिनाले स्वागतभाषणका अवसरमा कार्यक्रमको वैशिष्ट्यमाथि प्रकाश पार्दै ‘पाणिनि छन्दसाँझ’ केवल कविताको प्रस्तुति नभई, बालमस्तिष्कमा भाषा र साहित्यप्रतिको श्रद्धा अभिव्यक्त गर्ने लयात्मक र भावपूर्ण उत्सव पनि रहेको बताए।

कक्षा ५ र ६ ले ‘शिवताण्डवस्तोत्रम्’ प्रस्तुत गरे भने कक्षा ७ का विद्यार्थीले राष्ट्रकवि घिमिरेको काव्य ‘गौरी’बाट शार्दूलविक्रीडित छन्दमा ‘बिर्सी बिर्सी सकिन्न’ काव्यांश प्रस्तुत गरेका थिए।
त्यसैगरी कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले कवयित्री गोमा रेग्मीको पाणिनि-गीत, कवि धरणीधर कोइरालाको ‘साहित्यसुधा’, दैवज्ञराज न्यौपानेको ‘उपदेश’ र भानुभक्तीय रामायणका अंश प्रस्तुत गरेका थिए।

‘सुन्दर देश नेपाल’ बोलको राष्ट्रिय नृत्य तथा ‘अयि गिरिनन्दिनि’मा आधारित ‘नवदुर्गा-नृत्य’ले समारोहलाई थप भावात्मक बनायो।

मुनामदनबाट ‘नछाडी जानोस् हे मेरा प्राण अकेली मलाई’ बोलको कवितांशमा कक्षा ४ का बाबु-नानीहरूको सांगीतिक प्रस्तुति र त्यसपछिको भानुभक्तसम्बन्धी बालमनोवैज्ञानिक नाटकले त दर्शकश्रोतालाई यति भावविह्वल बनायो कि त्यहाँ प्रायः सबैका आँखा रसाएका देखिन्थे।

कार्यक्रममा अंग्रेजी भाषामा रचित कविताहरू पनि प्रस्तुत गरिएका थिए । William Wordsworth को ‘Daffodils’, A.E. Houseman को ‘Loveliest of Trees’ र William Shakespeare को ‘Sonnet 130’ को सशक्त वाचनले कार्यक्रमको बहुभाषिक रूप झल्काएको थियो। कार्यक्रममा २३ वटा कविता, १ नाटक र ३ नृत्य प्रस्तुत भएका थिए।

कार्यक्रममा साहित्यशास्त्री प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले बालबालिकामा भाषा र संस्कृतिप्रतिको प्रेम जगाउन अभिभावकको भूमिकासमेत आवश्यक रहेको बताउँदै विद्यालयको यस प्रकारको प्रयासको प्रशंसा गरे।

वरिष्ठ सञ्चारकर्मी डा. राजेन्द्रराज तिमिल्सिनाले पाश्चात्त्यमुखी शिक्षा नभएर अहिले शिक्षामा नवसंस्कृतीकरण अत्यावश्यक भएको र पाणिनि विद्यालयले यसको अवलम्बन गरेकोमा प्रसन्नता व्यक्त गरे।

भाषाशास्त्री डा. बलदेव गाउँलेले शुद्ध नेपाली भाषाको प्रयोग र संस्कृतमैत्री भावनाको संरक्षणमा सबै सजग हुनुपर्ने बताए।

प्रमुख अतिथि महाकवि डा. नवराज लम्सालले संघर्षशील एवं स्वावलम्बी सन्तानको निर्माणप्रति अभिभावकवर्ग सचेत हुनुपर्ने सन्देश दिए। उनले आफ्ना स्वरचित कवितांशहरूद्वारा राष्ट्रप्रेम र स्वभरोसा, आत्मविश्वासको भाव प्रकट गरे।

विद्यालयका प्रधानाध्यापक प्रकाशचन्द्र खड्काले वर्तमान शिक्षा प्रणालीमा कवि तथा रचनाकारहरूको नाम र योगदान उपेक्षित हुन थालेको गुनासो गर्दै साहित्य र अध्यात्मप्रति बालबालिकाको झुकाव बढाउन तथा यसतर्फ समाजलाई सजग गराउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए।

समारोहको समापनका बखत प्रस्तुत विद्यालयकी शिक्षिका कवयित्री गोमा रेग्मीको कवितावाचन र ‘नवदुर्गा नृत्य’ ले दर्शक श्रोताहरूलाई अन्तसम्मै आनन्दित तुल्याएको भान हुन्थ्यो। कार्यक्रम समग्रमा विद्यार्थीको अभिनयात्मकता, आत्मविश्वास र साहित्यप्रेमको उत्कृष्ट उदाहरण भएको देखिन्थ्यो।

कार्यक्रमको सञ्चालन त्रिवि संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक एवं प्रसिद्ध टीभी कार्यक्रम प्रस्तोता आचार्य गोविन्द घिमिरे ‘आकाशनीलम्’ ले गरेका थिए भने दीप टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो।

समारोहमा भागवती कथावाचनका विशिष्ट व्यक्तित्व ईश्वरकृष्णजी महाराज, सञ्चारकर्मी तथा ओशो साधक नीराजन भण्डारी, अभिनेत्री तथा साहित्यकार सोविता सिम्खडा, नेपालीत्व मिडियाकी अध्यक्ष अर्चना शर्मालगायत अन्य विशिष्ट व्यक्तित्वको समेत उपस्थिति थियो।

विद्यालयले विद्यालयको देवनागरी विभागकी शिक्षिका कवयित्री गोमा रेग्मीसहित ६ जना विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न विधा र शीर्षकमा सम्मान प्रदान गरेको थियो। सम्मानपत्रको वाचन विद्यालयको शिक्षकमण्डली एवम् उद्घोषकद्वारा गरिएको थियो।

विद्यालयले आयोजना गर्दै आएको यो कार्यक्रमको सातौँ संस्करण हो।

प्रकाशित: २९ असार २०८२ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast