
रसुवा- रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ। ल्हेन्दे खोलामा आएको बाढीले केरुङ खोलाको बहाव थुन्दा सीमावर्ती क्षेत्रमा पानी जमेर ठूलो क्षति पुगेको छ। चिनियाँ पक्षले अहिले जमेको पानी खोल्न उपकरणको प्रयोग थालेको छ।
चीनको तर्फबाट ल्हेन्दे र केरुङ खोलाको दोभानमा रुख, ढुंगा र मुढाहरू जमेर सडक अवरुद्ध हुँदा ३० भन्दा बढी कन्टेनर डुबेका छन्। यही असार २३ गते केरुङबाट नेपाल फर्किरहेका कन्टेनरहरू बाढीका कारण थन्किँदा डुबानमा परेका थिए। राजमार्गमा रोकिएका ती कन्टेनरसहित वरपरका घरहरू पनि डुबानमा परेका छन्।
नेपालतर्फ रसुवा भन्सार कार्यालयको यार्डभित्र रोकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीका ६ वटा ट्रक र २४ वटा नेपाली कन्टेनर समेत बाढीले बगाएको भन्सार प्रमुख तुलसीप्रसाद भट्टराइले जानकारी दिए। केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।
असार २४ गते राति आएको बाढीले ६ जना चिनियाँ, ३ जना नेपाल प्रहरी र ५ जना नेपाली कामदारसहित जम्मा २० जना बेपत्ता भएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेपत्तामध्ये केही नेपाली चालकहरू पनि छन्। बाढीले सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्स कम्पनीका टिपर, मिक्स्चर, स्काभेटर, रोलर र एक हाइलक्स जिप समेत बगाएको छ।
बाढीको समयमा सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा भाग्न अनुरोध गरे पनि केहीले भाग्न नपाई ज्यान गुमाएका हुन्। गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामी छिरिङ तामाङका अनुसार जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको भए पनि बाढीको तीव्रताले ठूलो क्षति हुन पुगेको हो। उनले सरकारलाई बाढीपीडितको उद्धार, राहत वितरण र केरूङतर्फ थुनिएर बसेका नेपालीहरूलाई सुरक्षित घर फर्काउने व्यवस्था गर्न आग्रह गरेका छन्।
स्थानीय पुरूषोत्तम पौडेलका अनुसार मानसरोवर–कैलाश तीर्थयात्रा सकेर फर्किरहेका यात्रुलाई मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नेपाल ल्याउने व्यवस्था गरिएको छ। असार २४ र २५ गतेमा नेपाल प्रवेश गरिसकेका यात्रुलाई भने हेलिकप्टरमार्फत गन्तव्यसम्म पुर्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली उद्धार कार्यमा खटिएका छन्। स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनेको र सम्पूर्ण क्षेत्र सुनसान र भयग्रस्त अवस्थामा रहेको छ।
अध्यक्ष तामाङका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन कार्य थालिएको छ।