भानुभक्तले नेपाली भाषालाई विश्वभर फैलाउने आधार तयार पारे : शिक्षामन्त्री पन्त

हिमाल प्रेस २९ असार २०८२ १३:१९
34
SHARES
भानुभक्तले नेपाली भाषालाई विश्वभर फैलाउने आधार तयार पारे : शिक्षामन्त्री पन्त शिक्षामन्त्री रघुजी पन्त। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आदिकवि भानुभक्त आचार्यको योगदानका कारण नेपाली भाषा आजको अवस्थामा आइपुगेको बताएका छन्।

भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्तले रामायणमार्फत भानुभक्तले नेपाली भाषालाई विश्वभर फैलाउने महत्वपूर्ण कार्य गरेको बताए।

‘नेपाली भाषा आज जुन स्थानमा पुगेको छ, त्यसको जग भानुभक्तले रामायण अनुवादमार्फत तयार पार्नुभएको हो,’ मन्त्री पन्तले भने।

उनका अनुसार नेपाली भाषा संसारका विभिन्न भूभागमा फैलिएको छ र यसको विस्तारमा भानुभक्तको योगदान ऐतिहासिक रूपमा विशिष्ट रहेको छ। उनले अझै पनि नेपाली भाषालाई विश्वमञ्चमा मजबुत बनाउने दिशामा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सभामुख देवराज घिमिरेले पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने ऐतिहासिक कार्य आदिकवि भानुभक्तबाट सुरु भएको बताए। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा आदिकविका प्रतिमा र संरचनाहरू निर्माणको तयारी हुनु सुखद् पक्ष भएको बताए।

कार्यक्रममा साहित्यकार तुलसी दिवस, डा.नवराज लम्साल, डा.धनप्रसाद सुवेदी, भानु प्रतिष्ठानका पदाधिकारीलगायत वक्ताहरूले भानुभक्तले भाषिक र सांस्कृतिक एकीकरणमा पुर्‍याएको योगदानबारे धारणा राखेका थिए। कार्यक्रममा भानुभक्तको प्रतिमास्थल रानीपोखरीबाट सुरु भएको र्‍याली प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast