
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाबाट पारित गर्ने विषयमा सरकारको प्रतिबद्धता, समयसीमा र पछिल्लो समय उत्पन्न घटनाक्रमसँगै सिर्जित अन्यौलता तथा सरोकारवालाहरूमा देखिएको आशंकाबारे छलफल गर्न नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको विस्तारित कार्यालयीय बैठक काठमाडौँको बबरमहलमा सुरु भएको छ।
बैठकको प्रारम्भमा महासंघकी राष्ट्रिय समिति सहअध्यक्ष नानुमाया पराजुलीले विद्यालय शिक्षा विधेयक अलमलमा पर्नु चिन्ताजनक रहेको बताइन्। सरकारकै ढिलासुस्ती र अस्पष्टताका कारण विधेयकप्रति आम सरोकारवालाहरूमा गम्भीर आशंका पैदा भएको उनको भनाइ थियो।
‘प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने सरकारको प्रतिबद्धता, समयसीमा र कार्यान्वयनमा देखिएको कमजोर प्रतिबद्धता, अहिलेको अन्यौलता र अनिश्चितताले हामी शिक्षकहरू चिन्तित भएका छौं,’ पराजुलीले भनिन्।
उनका अनुसार यस्ता परिस्थितिमा नेपाल शिक्षक महासंघले आगामी रणनीति स्पष्ट पार्ने, सरोकारवाला निकायहरूसँग आवश्यक संवाद गर्ने र दबाबमूलक कार्यक्रमका विकल्पहरूमाथि विचार गर्ने उद्देश्यसहित बैठक सञ्चालन गरिएको हो।
बैठकमा शिक्षक संघसंगठनका पदाधिकारीहरू सहभागी छन्। बैठकमा विधेयकका विवादित प्रावधानहरू, विशेषतः अस्थायी शिक्षकको व्यवस्थापन, बढुवाका मापदण्ड, पदपूर्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको छ।
शिक्षक महासंघले यसअघि पनि सरकारसँग विधेयक असार १५ भित्र प्रतिनिधिसभामा पेस गर्न सहमति जनाएको थियो। तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले असन्तुष्टि व्यक्त गर्दै आएको छ।
शिक्षामन्त्रीलाई सहमतिका लागि समितिले दिएको ५ दिन सकियो, सहमति भएन, बैठक नै अनिश्चित