
सिन्धुपाल्चोक- प्रदेश र संघीय सरकारले मेलम्ची नगरपालिका वडा-९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नहुँदा ओझेलमा परेको छ। राज्यका उच्च पदस्थहरू आएर जनता माझमा गरेका प्रतिबद्धताहरू पूरा नगर्दा पर्यटकीय स्थल नै ओझेलमा परेको स्थानिय सरोकारवालाहरूले गुनासो गरेका हुन्।
पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा-२ आयोजना गरिएको छ।
सम्पादक समाज नेपालले मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची-९ स्थित गुफाडाँडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू सहभागि थिए।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र संघ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गरे। ‘मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन्। यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासनमात्र दिएको हो’, उनले भने।
उनले गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए।
मेलम्ची-९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्त्व र हालसम्म भए गरेका कामका बारेमा जानकारी गराए। उनले तीन तहका सरकारमध्ये स्थानीय तहले मात्र चासो दिँदा पर्यटकीय सङ्ख्यामा उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको बताए।
सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ विषयक अन्तरक्रियाले यस भेगको समस्या र चिन्तालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले तीन तहका सरकारबीच सहकार्य र समन्वय नहुँदा कतिपय काम ओझेलमा पर्ने गरेको बताउँदै त्यसको उदाहरणका रूपमा गुफाडाँडालाई लिन सकिने बताए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वातावरणीय संकट र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने कार्यमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, जलवायु परिवर्तनविरुद्ध जुध्न स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वयात्मक नीति र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रम क्यौलेठाना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। गुफाडाँडा क्षेत्रलाई राष्ट्रिय जलवायु सम्मेलनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जनाउँदै सहभागीहरूले आवश्यक पूर्वाधार र बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले स्थानीय सरकार आफैंले सकेजति गुफाडाँडाको प्रवर्धन गर्न लागेको जानकारी दिए। उनले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले थप मनमोहक रहेको बताए।
त्यस्तै वडा नं. ९ का अध्यक्ष किरणदीप खड्काले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यसँगै देशको धरोहरका रूपमा जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताए। उनले आफ्नै स्रोतसाधनमा स्थानीयले सञ्चालन गरेको होमस्टे पनि प्रवर्धनको बाटो पर्खिरहेको जानकारी दिए।
कार्यान्वयनमा आएन घोषणापत्र
विं स. २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो। यसका लागि तत्कालीन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले समन्वय गरेका थिए। जलवायु सम्मेलनदेखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो। जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो।
काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ। प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ। सोपश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ।