‘अन्याय’मा परेको उजुरी लिएर निर्वाचन आयोग जाँदै नवराज सुवेदीसहितका राप्रपा नेता

हिमाल प्रेस २९ असार २०८२ ७:४५
68
SHARES
‘अन्याय’मा परेको उजुरी लिएर निर्वाचन आयोग जाँदै नवराज सुवेदीसहितका राप्रपा नेता राप्रपा संस्थापक नेता नवराज सुवेदी र सगुन सुन्दर लावती।

काठमाडौँ- संस्थापक नेता नवराज सुवेदीसहित विभिन्न नेताहरूको पदबाट हटाएको विषयमा उजुरी दिन राप्रपाका नेताहरू आज निर्वाचन आयोग जाँदैछन्। पार्टीबाट राजीनामा नदिइ एकाएक पार्टीबाट हटाएको एवं अनुशासन आयोगमा समेत अर्को व्यक्ति नियुक्त गरेको भन्दै सुवेदीसहितका राप्रपाका ५० केन्द्रीय सदस्य आज ११ बजे निर्वाचन आयोग जाने भएका छन्।

यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी संयोजक रहेको अनुशासन आयोगमा वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरेका थिए। सुवेदीले आफूले राप्रपा नछोडेको अडान राखेका छन्।

यसअघि राजसंस्था पुनस्थापनाका लागि गठित समितिको संयोजक रहेका सुवेदीले सार्वजनिक समारोहमा आफू राजावादी आन्दोलनमा होमिन राप्रपा त्यागेको बताएका थिए। उनले सार्वजनिक मञ्चबाट भने पनि लिखितरूपमा राजीनामा नदिएको लिङ्देन इतर पक्षको भनाइ छ। पछिल्लो समय लिङ्देनले राप्रपाको प्रवक्ताबाट सगुन सुन्दर लावतीलाई समेत हटाएका थिए।

लावतीलाई लिङ्देनले हटाए पनि विधि नपुर्‍याएको नेताहरू बताउँछन्। ‘यदि कुनै नेतालाई हटाउने हो भने पनि पार्टी बैठकबाट अनुमोदन गर्नुपर्छ’ इतरपक्षका एक नेताले भने।

लावतीलाई पार्टीको विदेश विभाग सदस्यबाट समेत लिङ्देनले आफूखुसी हटाएका थिए। आज यिनै विषयलाई लिएर आयोग जान लागेको राप्रपा केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए।

राप्रपामा विवाद बढेपछि शनिबार महामन्त्री धवलशमशेर राणाको निवासमा छलफल समेत भएको थियो। छलफलमा राप्रपाका ५० केन्द्रीय सदस्य रहेको इतरपक्षको दाबी छ।

त्यसलगत्तै राप्रपा निर्देशक समितिका संयोजक डा प्रकाशचन्द्र लोहनी र पूर्वअध्यक्ष पशुपतिशमशेर जबराबीच पनि छलफल चलेको थियो। यता संस्थापन पक्षले भने पार्टी हितका लागि नयाँ जिम्मेवारी दिइएको बताएको छ। राप्रपा अध्यक्ष लिङ्देनले शनिबार नै एक कार्यक्रममा आफू गुट बनाउन नलागेको र पार्टी बनाउन लाग्दा आरोप लागेको बताएका थिए।

प्रकाशित: २९ असार २०८२ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast