
काठमाडौँ- शिक्वल फाउन्डेसनले ईयू–संयुक्त राष्ट्रसंघको संयुक्त कार्यक्रम ‘इम्पावर्ड वुमन, प्रोसपेरस नेपाल’ को सहकार्यमा आयोजना गरेको नेपालका महिलामात्र सहभागी ‘ह्याकाथन २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ।
महिलाको आर्थिक सशक्तिकरणमा केन्द्रित तीनदिने विशेष आवासीय कार्यक्रम शनिबार सम्पन्न भएको हो। कार्यक्रममा प्रविधि, समावेशीकरण र प्रभावलाई एउटै मञ्चमा समेट्दै प्रविधिमा महिलाको सहभागिता बढाउने लक्ष्य राखिएको थियो।
नेपालभरिका उत्कृष्ट ४८ महिला सहभागी छनोट गरी ‘ह्याकिङ फर इम्पावर्ड वुमन’ शीर्षकअन्तर्गत विभिन्न सामाजिक तथा आर्थिक चुनौतीका विषयमा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिता निःशुल्क देखभाल श्रम, वित्तीय सेवामा पहुँच, डिजिट साक्षरता र लैङ्गिक संवेदनशी स्वास्थ्य सेवा जस्ता महत्वपूर्ण मुद्दाहरूमाथि केन्द्रीय रहेको थियो।
ह्याकथनमा बुटवलकी रश्मी न्यौपाने, आकृति पराजुली र सुप्रिया श्रेष्ठको समूह प्रथम भएको काठमाडौँस्थित ईयू दूतावासले जनाएको छ। यो समूहले महिलाहरूले गर्ने अदृश्य देखभाल श्रमलाई अंक प्रणाली, सत्यापन र मासिक प्रतिवेदनमार्फत दर्ता गरी यसको मान्यता, सहयोग र आर्थिक समावेशीकरण सुनिश्चित गर्न डिजिटल प्लेटफर्म तयार पारेको थियो।
त्यस्तै झापाकी ऐश्वर्य पोखरेल, आयुष्मा पोखरेल र हेमकला थापाको समूह दोस्रो भएको छ। यो समूहले ‘केयर ब्रिज’ नामक वेब प्लेटफर्म तयार पारेको थियो।
काठमाडौँको कृतिका आचार्य, आस्था घिमिरे र सिम्रन गुरुङ सम्मलित समूह तेस्रो स्थान हासिल गरेको छ। यो समूहले ‘हेरिटएज’ नामक सांस्कृतिक कथा भन्ने एप निर्माण गरेका थिए। यो एपले स्थानीय कलाकारहरूको सशक्तीकरण, युवाहरूको ‘एआर र एआई’ प्रविधिमार्फत अनुभव र क्षेत्रीय भाषामा सामग्री प्रस्तुत गरी सांस्कृतिक संरक्षणमा योगदानमा मद्त पु¥याउँछ।