
काठमाडौँ- अबुधबाीस्थित नेपाली राजदूतावासले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले नेपाल सरकारले प्राथमिकता दिएको आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा अघि बढाउने यूएईसँग व्यापार, लगानी र पर्यटन क्षेत्रमा पर्यापत सम्भावना रहेको बताए।
उनले यूएईमा क्रियाशील नेपाली व्यवसायी तथा पेशाकर्मीहरूले भोगेको अनुभव, समस्या र सुझाव संकलन गरी आगामी दिनमा दुवै देशका सरकारी तथा निजी क्षेत्रबीच बैठक छलफल तथा अन्तरक्रिया गर्ने योजना रहेको उल्लेख गरे।
राजदूत क्षेत्रीले नेपालको कृषि, जलस्रोत, पूर्वाधार, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन जोड दिँदै सबै नेपाली व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट नेपालको समृद्धिमा योगदान गर्न आह्वान गरे।
साथै दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ गर्न नीतिगत तथा कानुनी सुधारका लागि नेपाल सरकारसमक्ष पहल गर्न दूतावासले सधैँ सहजीकरणको भूमिकामा रहने उनले बताए।
दूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालले नेपालको हालको वैदेशिक व्यापार स्थिति, यूएईबाट लगानी भित्र्याउने उपाय, पर्यटन प्रवद्र्धनका सम्भावनालगायतका विषयमा प्रस्तुति दिइन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघ यूएईका प्रतिनिधि र सहभागी व्यवसायीहरूले नेपालको व्यापार, लगानी र पर्यटन क्षेत्रका समस्या तथा समाधानबारे धारणा राखेका थिए।
कार्यक्रममा यूएईमा पेशा, व्यापार, व्यवसाय, लगानी र पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील करिब सय नेपाली व्यवसायीहरूको उपस्थिति रहेको थियो।