
बुटवल– प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ। फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल भएको हो।
युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए। सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रयमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास विफल भएको छ।
‘कुनै पनि सदस्य राष्ट्रले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन्,’ लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, ‘सदस्य राष्ट्रहरुले इकोमसको प्रतिवेदनलाई पूर्ण सर्मथन जनाउँदा तिलौराकोटको प्रस्ताव गएन।’
तिलौराकोटसम्बन्धी इकोमसको प्रतिवेदनलाई हुबहु पारित गरे पनि भारतको मार्था मिल्टरी ल्यान्डस्केपलाई जापानले सूचीकृतका लागि संशोधन प्रस्ताव राखेपछि अन्य सदस्य राष्ट्रहरूले समर्थन गरेर अगाडि बढाइएको छ।
नेपालको प्रस्तावमा मुख्यगरी छिमेकी देश भारत मौन मात्रै बसेन। भारत सरकारले नै युनेस्कोलाई पत्राचार गरेर कपिलवस्तुको तिलौराकोटलाई सूचीकृत प्रस्ताव नलैजान दबाब दिएको स्रोतको दाबी छ।
भारतका अधिकारीहरुले सबै सदस्य राष्ट्रहरुलाई भेटेर डिफर (स्थगन) को प्रस्तावलाई रिफर (लेजाने) पक्षमा संशोधन नहाल्न भनेको बुझिएको छ। भारतले तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आइरहेको छ। यसैकारण पनि भारत बाधक रहेको हुनसक्ने अनुमान कोषका अधिकारीहरूले गरेका छन्।
यसअघि ४७ औँ युनेस्को बैठकमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको थियो। लामो समयको अध्ययनपश्चात प्रमाण संकलन गरेर विश्व सम्पदा सूचीमा सूचीकरण हुने अपेक्षा पूरा हुन नसकेपछि कोषका अधिकारीहरू चिन्तित बनेका छन्।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले पनि सूचीकृत हुनेमा आशावादी भएकोमा त्यसो नहुँदा निकै दुःख लागेको बताए। उनले स्थानीय सरकारका हिसाबले विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि सम्पदा संरक्षण गर्ने प्रतिबद्धता जनाए पनि कूटनीतिक पहल कमजोर भएको बताए।
‘हामी सहयोग गर्न तयार छौँ, कूटनीतिक पहल अझ बढाउन जरुरी छ,’ उनले भने।
नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), मन्त्रालयका सहसचिव सुरेशसुरस श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोलीले फ्रान्समा पहलसमेत गरेको थियो।
तिलौराकोटलाई विश्व सम्पदा स्थल बनाउनका लागि करिब १,००० पृष्ठ लामो अन्तिम मनोनयन दस्ताबेज सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोमा स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि राजदूत डा. सुधीर भट्टराईले पेरिसस्थित युनेस्कोको विश्व सम्पदा केन्द्रान बुझाएका थिए।
युनेस्कोको प्राविधिक सल्लाहकार इकोमस नै तिलौराकोटबारे सकरात्मक प्रतिवेदन तयार नपारेपछि नेपालको वर्षोँदेखिको प्रयास असफल भएको हो।
युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाण जुटाएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्तव विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञहरूसँग तिलौराकोट क्षेत्रमै पटकपटक छलफल गरेको थियो।
अन्तर्राष्ट्रिय सम्पदा विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया), प्राडा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअलसहित नेपालका विज्ञहरुले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काम गरेका थिए।
यनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।