यात्रा संस्मरण

‘फोर्ट क्यानिङ पार्क’ : सिंगापुरको सांस्कृतिक दस्तावेज

ईश्वर पोखरेल २८ असार २०८२ १७:५७
46
SHARES
‘फोर्ट क्यानिङ पार्क’ : सिंगापुरको सांस्कृतिक दस्तावेज

हामी परिवारका चारैजना हिजो (२७ असोज, २०८० तदनुसार १४ अक्टोबर, २०२३) सिंगापुरको मेरिना बेमा साँझको उत्सवमय समय बिताएर एएम होटलमा आएर सुतेका थियौँ। हामी होटलमा आइपुग्दा ठूलो हावाहुरीसहितको वर्षा हुन थालेको थियो।

बिहान उठेपछि हामीलाई त्यो हावाहुरीसहितको घनघोर वर्षापछिको सिंगापुर हेर्ने चौचौले गाँजेको थियो। तर होटलबाट बाहिर निस्केपछि देखियो- त्यति ठूलो झन्झावातपछि पनि सिंगापुर कतै केही हुँदै नभएजस्तो पो छ ए!

आफूलाई सधैँ ताजा र व्यवस्थित राख्न सक्ने व्यवस्थापकीय सीप नै सिंगापुरको पर्यटकीय कौशल हो।

आज (२८ आश्विन, २०८० तदनुसार १५ अक्टोबर, २०२३) हामीलाई प्रथमतः सिंगापुरको ‘फोर्ट क्यानिङ पार्क’ हेर्न जानु छ। तर त्यता सोझिनुभन्दा पहिले हामीले ब्रेकफास्ट गर्नुपर्छ। बिहान यहाँको एक लोकप्रिय रेस्टुरेन्टमा ब्रेकफास्टमा हामीले जुन स्वादको कायाटोस्ट खान पायौँ; यो अविस्मरणीय रहनेछ।

‘फोर्ट क्यानिङ पार्क’ सिंगापुरको सांस्कृतिक इतिहासको महत्त्वपूर्ण सम्पदा रहेछ।

सिंगापुरको आधुनिक कालखण्ड सन् १८१९ देखि प्रारम्भ भएको मानिन्छ। सन् १८६७ मा सिंगापुर बेलायतको प्रत्यक्ष नियन्त्रणमा थियो। दोस्रो विश्वयुद्धको समयमा सन् १९४२ मा सिंगापुरमाथि जापानले कब्जा जमायो। सन् १९४५ मै जापान सिंगापुर फेरि बेलायतलाई सुम्पिने अवस्थामा पुग्यो। सन् १९५९ मा सिंगापुरले स्वशासन प्राप्त गर्‍यो।

सन् १९६३ मा सिंगापुरसहित मलाया, उत्तरी बोर्नियो र सारावाकको गठबन्धनबाट मलेसियाको नयाँ संघको निर्माण भएको थियो तर सन् १९६५ मै यस संघबाट सिंगापुरलाई निष्कासन गरियो। सिंगापुर सन् १९६५ मा एक स्वतन्त्र सार्वभौम राष्ट्र बन्यो। यसपछि सिंगापुर जनसंख्याको जीवनस्तरलाई द्रूत गतिमा उन्नत/रूपान्तरण गर्न सक्षम देखियो। सन् १९६६ देखि १९९० सम्म सिंगापुरको आर्थिक वृद्धिदर वार्षिक ८.५ प्रतिशत थियो।

विकासका दृष्टिले निदाएको र माछा मार्ने गाउँका रूपमा रहेको सिंगापुर कसरी एक जीवन्त व्यापारिक केन्द्रमा परिणत भयो भन्ने ऐतिहासिक तथ्यहरूसहितको यही उतारचढाबपूर्ण घटनावलीको स्मारकका रूपमा रहेछ- ‘फोर्ट क्यानिङ पार्क’।

ब्रेकफास्टपछि हामी जमिनको सतहबाट एक्सेलेटरमार्फत तीन तला तल झर्‍यौँ र मेट्रोमा चढेर ‘फोर्ट क्यानिङ पार्क’तिर सोझियौँ। सिंगापुरको भूबनोटका दृष्टिले हेर्दा ‘फोर्ट क्यानिङ पार्क’ रहेको क्षेत्रलाई पहाड भन्ने गरेको देखिन्छ।

हाम्रो हिसाबमा यो एक फैलावटसहितको थुम्को हो। फोर्ट क्यानिङ हिलको पुरानो नाम ‘बुकिट लारांगन’ र ‘गभर्नमेन्ट हिल’ रहेछ। १ नोभेम्बर १९८१ मा तत्कालीन प्रधानमन्त्री ली कुआन युले फलफूलको रूख रोपेपछि यस पार्कको नाम ‘फोर्ट क्यानिङ पार्क’ राखिएको रहेछ। यो क्यानिङ राइज र फोर्ट क्यानिङ रोडको संगममा अवस्थित रहेछ।

हामी मेट्रो ट्रेनबाट उत्रिएर खुड्किलै खुड्किलाले बनेको सिंढी हुँदै गएका थियौँ। बाटाको दुवैतिर रंगीबिरंगी फूलहरू! कतै उभियौँ र फोटो खिचिहालौँ झैँ लाग्ने!! उसो त बाटामा फुलेका फूल र हरियालीलाई मात्र क्यामरामा टिप्न सक्ने हो भने मनमोहक देखिने।

अलिक उक्लिएपछि विश्रामस्थल भेटियो : पर्यटकहरू बसून् र फोटो खिचेर आफ्नो फोर्ट क्यानिङ पार्कको यात्रा स्मरणीय बनाऊन् भने झैँ गरेर सिंगारिएको! फूलैफूलको बीचमा बसूँ बसूँ झैँ लाग्ने गरी सिंगारिएको बेन्चमा बसेर फोटो नखिच्ने को होला! यही विश्राम स्थलबाट प्रारम्भ हुन्छ- काठले बनेको सिँढी। सिँढीमा न धुलो छ; न कतै फोहर देखिन्छ। सिँढीको जुनसुकै खुड्किला पनि निस्फिक्रीका साथ बस्ने सकिने किसिमको सफा! यी सिढी उक्लिने मानिसहरू कस्तो जुत्ता लगाएर उक्लिए हँ ! यहाँको सरसफाई हेर्दा लाग्छ; आज यहाँ उक्लिने हामी पहिला पर्यटक हौँ!!

फोर्ट क्यानिङ पार्क रहेको यस थुम्कामा दोस्रो विश्वयुद्धको समयमा धेरै सैन्य भवनहरू रहेछन्। यिनै भवनहरूमध्ये एक फोर्ट क्यानिङ बंकर पनि रहेछ र यही बंकर बेलायती सेनाले जापानीहरूलाई आत्मसमर्पणका लागि बाध्य बनाउने स्तरका रणनीतिहरू तर्जुमा गरेका रहेछन्। फोर्ट क्यानिङ पार्कमा सधैँ हराभरा रहने हरिया क्यानहरू! यी क्यानहरू पिकनिक, कन्सर्ट, नाटक प्रस्तुति र उत्सवहरूमा उपयोग गरिने। आज पनि एउटा क्यानमा कन्सर्ट चालु छ; तर कन्सर्टमा पुग्ने गरी हामीसँग फुर्सद छ र! हामी त्यस रमझमलाई टाढैबाट लोभिएर हेर्छौँ र समयको कठोर चापाचापमा परेको पर्यटकको शैलीमा लुसुक्क बाटो लाग्छौँ।

सर स्ट्यामफोर्ड र्‍याफल्सले यस थम्कोमा एउटा बंगला बनाएका रहेछन् र यही बंगला १८५० को दशकमा र्‍याफल्सपछिका औपनिवेशिक शासकहरूको निवास बनेको रहेछ। सन् १९२० को दशकमा यहाँ रहेको किल्ला खाली गरिएछ र ‘फोर्ट क्यानिङ पार्क’ बनाइएको रहेछ।

१९८४ मा, जोन मिक्सिकको नेतृत्वमा राष्ट्रिय संग्रहालयद्वारा प्रायोजित उत्खनन परियोजनाले यस थुम्काको पुरातात्त्विक अन्वेषण गरेको रहेछ। यस परियोजनाले फोर्ट क्यानिङ पार्क रहेको यस थुम्काको दक्षिणपश्चिम दिशामा रहेको एउटा मुहानले कुनै समय बन्दरगाहमा लंगर हालेका जहाजहरूको लागि पानीको मुहानको काम गथ्र्यो र प्राचीन समयमा यही मुहानमा आएर मलाया राजकुमारीहरू स्नान गर्थे भन्ने तथ्य प्रकाशमा ल्याएको रहेछ। प्राचीन कालमा पनि यो थुम्को चिनियाँ र प्राचीन मलाया कलाकृतिहरूले भरिपूर्ण थियो भन्ने तथ्य यस परियोजनाले प्रकाशमा ल्याएको रहेछ।

पछि आएर सिंगापुरका ऐतिहासिक घटनावलीको सम्मान स्वरूप यस फोर्ट क्यानिङ पार्कमा ऐतिहासिक बगैँचा, नयाँ सम्पदा ग्यालरी र प्राचीन वसन्तको रचनात्मक पुनरुत्पादनको योजना बनेको रहेछ। यसको सम्पदा ग्यालरीमा १४ औँ देखि १९ औँ र २० औँ शताब्दीसम्म फोर्ट क्यानिंग क्षेत्रको इतिहास र प्राकृतिक इतिहासलाई समेट्ने जमर्को भएको रहेछ। ग्यालरीको मुख्य आकर्षणमा फोर्ट क्यानिंग स्थलमा विभिन्न पुरातात्विक उत्खननबाट उत्खनन गरिएका गहना, सिरेमिक र सिक्का जस्ता कलाकृतिहरू राखिएका रहेछन्।

फोर्ट क्यानिङ पार्कमा पर्यटकहरू ऐतिहासिक सम्पदा हेरेर त रमाउने नै भए; सडकमा लहरै फुलेका रंगीविरंगी बास्नादार फूलको सन्निकटमा रहेर फोटो खिचेर पनि यस भ्रमणलाई अविस्मरणीय बनाउन पाउने रहेछन्। निश्चित दूरीमा रहेका विश्राम स्थलमा विश्राम गर्न पनि मिल्ने। सरसफाइमा सिंगापुरको उच्च सतर्कताले नै यसलाई विश्वका पर्यटकहरूका सामु आकर्षणको केन्द्र बनाएको होला। यहाँ पनि सडक सफा छ, सडकको कुनाकाप्चामा पनि फोहर देखिँदैन।

हामी पार्कबाट निस्केर सडकैसडक हिँड्दै छौँ। सिंगापुरको उचो भूभाग भएकाले यो सहरको दृश्यावलोकनका लागि पनि उपयोगी स्थल हो। पार्कबाट छोटो दूरीमा पर्यटकहरूका लागि फोटो खिच्नका लागि अत्यन्त सुन्दर स्टलहरू निर्माण गरिएका रहेछन्।

यहाँ फोटो खिच्ने लोभ कसलाई नहुँदो हो र!

 

प्रकाशित: २८ असार २०८२ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast