
काठमाडौँ- सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी- २० विश्वकप क्रिकेटको युरोप छनोटबाट नेदरल्यान्ड्स र इटाली छनोट भएका छन्। युरोपबाट स्कटल्यान्ड विश्वकपसम्म पुग्न असमर्थ रह्यो। जर्सीसँग शुक्रबार एक विकेटको हार व्यहोरेसँगै स्कटल्यान्डको विश्वकपसम्म पुग्ने धोको अपुरो रहेको हो।
युरोप छनोटबाट नेदरल्यान्ड्स र इटाली पुगेका हुन्। शुक्रबार नेदरल्यान्ड्सँग इटाली ९ विकेटले पराजित भएको थियो। नेदरल्यान्ड्स पराजित भएको भए रन रेटको आधारमा युरोपबाट जर्सी विश्वकपमा पुग्ने थियो। यो जितसँगै विश्वकप पुग्ने १५ टोली निश्चित भएका छन्। २० टोलीमध्ये अब पाँच टोलीको टुंगो लाग्न बाँकी छ।
कसरी छनोट भए १५ टोली?
२०२६ को विश्वकप भारत र श्रीलंकाले सामूहिक रूपमा आयोजना गर्दैछन्। आईसीसीको नियमअनुसार उनीहरू दुवै आयोजकका रूपमा आगामी विश्वकपमा सहभागी हुन पाउँछन्। यसबाहेक गत विश्वकपमा सात शीर्ष टोलीले स्वतः अर्को विश्वकप खेल्ने अवसर पाउँछन्।
जसअन्तर्गत अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्टइन्डिज परेका छन्। यसबाहेक शीर्ष बरीयताका आधारमा तीन टोली छनोटमा परेका छन्। जहाँ आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान परेका छन्।
छनोट खेलेर विश्वकप हुने टोली
आईसीसीले विश्वकपका देशहरूलाई विभिन्न संरचनामा विभाजन गरेर छनोट खेल खेलाउने गर्दछ। महादेशस्तरमा विभाजन गरेर विश्वकप प्रतियोगितामा सहभागी हुने टोलीको छनोट गर्ने प्रावधान छ। उनीहरूलाई निश्चित कोटा दिएर छनोट गर्ने गरिन्छ।
अहिलेसम्म अमेरिका क्लष्टरबाट एक टोली क्यानडा विश्वकपमा पुगेको छ। युरोपबाट दुई देश पुग्नेमा इटाली र नेदरल्यान्ड्स छन्। अफ्रिका क्लष्टरबाट दुई देश (टोली) आउनेछन्। जसको छनोट खेल हुन बाँकी छ। नेपाल सम्मिलित एसिया क्लष्टरबाट ३ टोली पुग्नेछन्।
नेपालको सम्भावना कति?
सन् २०१४ मा पहिलोपटक टी- २० विश्वकप खेलेको नेपाली टोली फेरि विश्वकप पुग्न १० वर्ष कुर्नुपर्यो। सन् २०२४ मा यूएईमाथि जित निकाल्दै दोस्रोपल्ट नेपाल विश्वकपमा पुग्यो। दुई-दुई वर्षमा हुने विश्वकपमा अब तत्काल नेपालले छनोट खेल खेल्नुपर्नेछ। पूर्वी एसियाको अन्तिम तीनमा परेमा नेपालले २०२६ मा टी २० विश्वकप खेल्नेछ।
२०२६ को विश्वकपमा पुग्न नेपालले ओमानमा छनोट खेल खेल्नेछ। छनोटका लागि टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा नौ टोलीले सहभागिता जनाउनेछन्।
एसिया तथा पूर्वी एसिया-प्रान्त क्षेत्रबाट विश्वकपसम्म यात्रा तय गर्न प्रतिस्पर्धामा सन् २०२४ को उपक्षेत्रीय छनोटबाट आएका कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआले आयोजक ओमान, नेपाल र पपुवा न्यू गिनी हुनेछन्।
प्रतियोगिता १० दिनसम्म चल्नेछ, जसको समूह चरण अक्टोबर ८ देखि १० सम्म हुनेछ। नौ टोलीलाई तीनतीन टोलीको तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
सुपर सिक्स चरणका खेलहरू अक्टोबर १२ देखि १७ सम्म चल्नेछ। सुपर सिक्स चरणका शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी २० विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गर्नेछन्।
यसपटक नेपाललाई समूह चरणमा सहज हुने देखिन्छ। किनकि नेपालको समूहमा रहेको कुवेतसँग टी- २० प्रतिस्पर्धामा नेपालले २ जित र एक हार व्यहोरेको छ। अर्को नेपाल कुवेतभन्दा टी- ० वरीयतामा पनि अगाडि छ। नेपाल हाल वरीयतामा १८ औँ स्थानमा रहँदा कुवेत २३ औँ स्थानमा र जापान ४३ औँ स्थानमा छ। त्यसपछि नेपालको वास्तविक परीक्षा सुपर सिक्समा हुनेछ। जहाँ नेपालको प्रतिस्पर्धात्मक टिमहरू सहभागी छन्।
नेपालका लागि यूएई र ओमान सबैभन्दा बढी प्रतिस्पर्धात्मक टोली देखिएका हुन्। उनीहरू दुवै सुपर सिक्समा पुगेमा नेपाललाई बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। यी दुई टोलीमध्ये वरीयतालाई हेर्ने हो भने यूएई नेपालभन्दा अघि छ भने ओमान दुई स्थानमात्र पछि छ। हाल यूएई १३ औँ र ओमान २० औँ स्थानमा छ। नेपालले हालसम्म टी-२० क्रिकेटमा यूएईसँग १० पटक प्रतिस्पर्धा गर्दा ५ पटक हार र ५ पटक जित हासिल गरेको तथ्यांक छ।
ओमानसँग ८ पटक भेट हुँदा १ मा बराबरी, ५ मा नेपालको जित र एकमा हार व्यहोरेको छ। नेपालसँग बराबरी भएको खेलमा पनि ओमानले सुपरओभरमा जित निकालेको छ। तर सुपर सिक्समा परेका शीर्ष ३ मा पुग्ने टोली विश्वकप पुग्ने भएकाले नेपाललाई सहज पर्ने देखिन्छ।
समूह विभाजन
– समूह १ : यूएई, मलेसिया र कतार
– समूह २: नेपाल, कुवेत र जापान
-समूह ३ : ओमान, पपुवा न्यूगिनी र सामोआ
नेपालको खेल तालिका (सबै खेल ओमान क्रिकेट एकेडेमी अल अमरेतमा हुने)
८ अक्टोबर- नेपाल भर्सेस कुवेत-राति ८:४५ नेपाली समय
१० अक्टोबर- नेपाल भर्सेस जापान- दिउँसो पौने ४ बजे