मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ

हिमाल प्रेस २७ असार २०८२ २०:४७
24
SHARES
मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ तस्बिर : एफपी

काठमाडौँ– गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम सातायता करिब आठ सय जनाको ज्यान गएको छ। मानवीय सहायता लिने प्रयासमा यो संख्यामा मानिसको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको हो।
अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रनजिकै भएको बताइएको छ।

एक निजी प्रयोजनको रुपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले गत मे २६ देखि गाजामा सेवा प्रदान गर्न थालेको हो। इजरायलले योभन्दा अगाडि दुई महिनासम्म गाजामा खाद्य तथा अन्य सामग्रीको आपूर्ति रोकेको थियो, जसका कारण गम्भीर भोखमरीको जोखिम देखिएको थियो।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जिनेभामा पत्रकारहरूसँगको कुराकानीमा भनिन्, ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ।’

उनका अनुसार, थप १८३ जनाको मृत्यु सम्भवतः सहायता सामग्री लादिएका सवारीहरूको मार्गमा भएको अनुमान गरिएको छ।

झन्डै ८०० जना नागरिक सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएको उनको भनाइ छ।

गाजा मानव सहायता प्रतिष्ठानको कामका क्रममा गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघको सहायता वितरण प्रणाली लगभग निष्क्रिय भएको छ। सहायता लिन लामबद्ध भएका मानिसहरूमाथि प्रायः जसो इजरायली सुरक्षाकर्मीहरूले गोली चलाएको घटनाहरू देखिँदै आएका छन्।

प्रतिष्ठानले एक विज्ञप्ति मार्फत हालसम्म ‘६ करोड ९० लाखभन्दा बढी भोजन सामग्री वितरण गरिएको’ उल्लेख गरेको थियो। तर उसले आफ्ना वितरण केन्द्रहरूसँगै नजिक मृत्यु हुने घटनाहरू भएको कुरा अस्वीकार गर्दै आएको छ।-रासस/एएफपी

प्रकाशित: २७ असार २०८२ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast