
इटहरी- मोरङको ग्रामथान गाउँपालिकामा शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठक तनावपूर्ण बन्यो। अध्यक्ष नमोनारायण माझीले दुई जना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेपछि अवस्था तनावपूर्ण बनेको हो।
वडा नं. ५ का अध्यक्ष भेषनारायण चौधरी र वडा नं. ७ का अध्यक्ष वीरेन्द्र चौधरीले गाउँसभामा नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित नगरी सीधै सभामा ल्याइएको विषयमा प्रश्न उठाएका थिए। तर अध्यक्ष माझीले उनीहरूलाई ‘अनुशासन भंग गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने र सभाको प्रतिष्ठामा आँच पुर्याएको’ आरोप लगाउँदै गाउँसभा बैठकमा सहभागी हुन रोक लगाउने आदेश जारी गरे।
गाउँसभा सञ्चालन कार्यविधि, २०७४ को दफा १६ (४) अनुसार दिइएको आदेशमा सात दिनको निषेध गरिएको उल्लेख छ। निषेधमा परेका दुवै जना वडाध्यक्ष एमालेका जनप्रतिनिधि हुन् भने गाउँपालिका अध्यक्ष माझी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। उनी गत मंसिरमा भएको उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका हुन्।
निष्कासित वडाध्यक्षहरूले आफूहरूले सामान्य प्रश्न मात्र उठाएको र राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको आरोप लगाएका छन्। उनीहरूले कानुनी उपचार खोज्ने तयारी पनि जनाएका छन्।
अध्यक्ष माझी यसअघि पनि उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक तोक्ने, एमाले निकट उपाध्यक्षको सवारी साधन खोस्ने, र कार्यपालिकाको कोरम नपुर्याई निर्णय लिने जस्ता विवादास्पद निर्णयहरूका कारण आलोचित हुँदै आएका छन्।
दुई वडाध्यक्ष निष्कासन गरिएपछि गाउँसभा बैठक स्थगित गरिएको छ। गाउँपालिकाले हालसम्म बजेटसम्बन्धी प्रस्तावसमेत पेस गर्न सकेको छैन। जसले आगामी आर्थिक वर्षको कार्यक्रमलाई अन्योलमा पारेको छ।