
काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जली मुद्दामा मुछिएपछि पार्टीमा यतिबेला उकुसमुकस छ।
नेपाल आफूमाथि पूर्वाग्राही हिसाबले प्रतिशोध साँधेको दाबी गर्दै भ्रष्टाचार नगरेको तर्क गरिरहेका छन्। आफ्नो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको नेपालले भन्दै आइरहेका छन्। यही कारण यसअघि बसेको समाजवादीको सचिवालय बैठकले पनि अध्यक्ष नेपालबारे ठोस निर्णय लिन सकेन।
नेताहरू नेपालको पक्ष–विपक्षमा बाँडिएका छन्। नेपाल निकटस्थ मानिने नेताहरू मुद्दाको डटेर सामना गर्नुपर्ने भन्दै नेपाललाई ढाडस दिँदै आएका छन्। तर इतरपक्षका नेताहरूको भने तर्क फरक छ। नेपालइतर मानिने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल भने पार्टी अध्यक्ष भ्रष्टाचारजस्तो गम्भीर मुद्दामा आरोपित भएकाले अनुसन्धानका लागि मार्गप्रशस्त गर्नुपर्ने राय राख्दै आएका छन्।
रोचक कुरा के छ भने खनाल–भुसालले हालसम्म आधिकारिक रूपमा कुरा राख्न सकेका छैनन्। पार्टीले नै आधिकारिक रूपमा ‘प्रतिशोध’ भनिसकेकाले नेपालविरुद्ध बोल्नु फलदायी नहुने उनीहरूको आशय छ।
तर, पार्टीको भविष्यका लागि पनि नेपालले राजीनामा दिए उचित हुने उनीहरूको बुझाइ छ। यही कारण यसअघि समाजवादीको सचिवालय बैठकमा नेपालसँग राजीनामा मागिएन। यसअघि चार दिनसम्म बसेको बैठकमा कुनै पनि नेताले सीधै नेपालको राजीनमा माग्न सकेनन्। अहिले नेपालमाथि मुद्दा लागेपछि समाजवादी संसदीय दल नेताविहीन छ। तर त्यही दलका नेताहरू संसदीय दलको नेता को हुने भन्न सकिरहेका छैनन्।
‘अध्यक्षज्यू आफूलाई नैतिकवान ठान्नुहुन्छ। यति मुद्दा परेपछि त राजीनामा दिनुपर्ने हो नि,’ इतरपक्षका एक नेता भन्छन्,‘विगतमा समेत उहाँ नैतिकताकै कुरा गर्नुहुन्थ्यो। यो कुरा त सम्झाउनु पर्ने होइन नि।’
बैठकमा झलनाथले सम्झाए माधव नेपाललाई नैतिकता
एक किसिमले नेपालमाथि लागेको मुद्दा समाजवादीको संस्थागत मुद्दा जस्तो बनेको छ। पार्टीले आधिकारिकरूपमै नेपालको पक्षमा विज्ञप्ति निकालेको छ। नेताहरूलाई अहिले यही कुरा असहज भएको छ। इतर पक्षका एक नेता नेपालले समाजवादीलाई मुद्दामा नमिसाएको भए हुन्थ्यो भन्ने तर्क गर्छन्।
विगतमा एमालेमाथि अनेक आरोप लगाउँदै समाजवादी बनेको थियो। जसको एक उद्देश्य भ्रष्टाचार अथवा सुशासन समेत हो। तर आज नेपालमाथि भ्रष्टाचारको मुद्दा लाग्दा पार्टी नै उनको पक्षमा बोल्नुपर्ने भयो।
अर्को कुरा, मुद्दा वर्तमान सरकार (केपी शर्मा ओली) ले नभई अख्तियार दुरुपयोग आयोगले लगाएको हो। तर ओलीकै निर्देशन भन्ने भाष्य खडा गरेर मुद्दाको विपक्षमा वकालत गरिँदै आएको छ। त्यसो त, सोही कुरा पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष नेपालमाथि लागेको मुद्दा पार्टीलाई नभई व्यक्तिगत रूपमा लागेको भन्दै यस्तो खालको मुद्दामा व्यक्ति स्वयंले लड्नुपर्ने बताएका छन्।
आइतबार सचिवालय बैठकमा आफ्नो धारणा राखेर सोही दिन चीन भ्रमणमा निस्किएका खनालले मुद्दा लड्ने क्रममा आवश्यक कानुनविद् र वकिलहरूको समन्वय भने पार्टीले गर्न सक्नुपर्ने बताएका थिए।
‘कमरेड माधवकुमार नेपाल विशेष अदालत समक्ष सम्पूर्ण कुरा प्रस्ट प्रस्तुत गर्न सक्षम व्यक्ति हुनुहुन्छ। उहाँले भनिसक्नुभएको छ–नबिराउनु नडराउनु। त्यही कुरालाई हामी पनि विश्वास गर्दछौँ’, नेता खनालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने।
ती सदस्यका अनुसार खनालले बैठकमा पतञ्जलीसम्बन्धी सम्पूर्ण कुराहरू कानुनी रूपले प्रतिवादीका पक्षबाट अध्यक्ष नेपालले सशक्त रूपले प्रतिवाद गर्ने र आफूलाई निर्दोष सावित गर्नेमा विश्वास व्यक्त गरेका थिए।
त्यसक्रममा उनले पतञ्जलीसम्बन्धी मुद्दा अदालतमा पुगिसकेकाले पक्ष विपक्षमा नेताहरूले मिडियामा गएर बोल्नुभन्दा अदालतलाई सम्मान गर्दै कानुनी रूपमा बलियो ढंगले उभिनुपर्नेमा जोड दिएका थिए।
‘त्यहाँबाट दूधको दूध, पानीको पानी, यथार्थ कुरा आउनेछ र सम्मानित अदालतबाट यथाशीघ्र निष्कर्ष निकाल्ने वातावरण बनाउने काम गर्नुपर्छ’, खनालका भनाइ उद्धृत गर्दै ती सदस्यले भने।
नेता खनालले अध्यक्ष नेपालमाथि मुद्दा लागेसँगै नैतिकताको प्रश्न उठ्न पुगेको समेत बताएका छन्।
‘कमरेड माधवकुमार नेपाल अहिले पार्टी अध्यक्ष हुनुहुन्छ। उहाँ पार्टी अध्यक्षमा भइरहँदा विभिन्न मिडियादेखि चारैतिर नैतिकताका प्रश्न आइरहेका छन्’, खनालले बैठकमा भनेका थिए, ‘नैतिकताका प्रश्नहरूले कमरेड माधवकुमार नेपालको मनोविज्ञानमा पनि असर पार्छ। मिडियामा प्रचार हुन्छ र सम्मानित अदालतलाई पनि नकारात्मक असर पर्न सक्छ। त्यसैले आफूलाई स्वतन्त्र राखेर कानुनी प्रतिवादमा पूर्ण रूपले उतार्नु उपयुक्त हुन्छ।’
अध्यक्ष नेपालले त्यसो गर्दा उनी आफैँलाई पनि मानसिक रूपले उच्च मनोबल दिने र कानुनी प्रतिवादको तयारीमा लाग्न पनि समय पुग्ने खनालको सुझाव छ।
अध्यक्ष पदबाट नेपालले राजीनामा दिएको खण्डमा अदालतलाई पनि निष्पक्ष भएर सहयोग गरेको अनुभूति हुनुका साथै पार्टीका सबै नेता कार्यकर्ता र समर्थकहरूको मनोबललाई पनि उच्च बनाउने खनालको निष्कर्ष छ।
खनालले बैठकमा भने, ‘यो सम्पूर्ण कुराहरू सोच्नुपर्ने र निर्णय गर्नुपर्ने विषय कमरेड माधवकुमार नेपालले नै हो। उहाँको नैतिकता र आत्मनिर्णयको कुरा हो। राजीनामा गर्न वा नगर्न दबाब दिनु आवश्यक पर्दैन।’
महासचिव भुसालले मध्यमार्गी कुरा गरेका थिए। उनले नेपालको पक्षमा पार्टीले स्पष्ट अडान लिनुपर्ने बताएका थिए। भुसाल पनि नेपालले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन्। तर उनी पार्टीको औपचारिक फोरममा बोलेका छैनन्। भुसालनिकट नेताहरूका अनुसार अन्य नेताबाट कुरा आए सहमति जनाउने नभए नजनाउने आशय उनको छ।
अध्यक्ष नेपाल भने पार्टीले निर्णय गरे आफू नेतृत्वबाट बिदा हुन तयार रहेको बताउँछन्। आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको उनको भनाइ छ।
‘ममाथि मुद्दा लगाइएको आधारमा कमिटीले बिदा गरे म बिदा भएर जान तयार छु,’ शुक्रबार पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रथम केन्द्रीय कमिर्टी बैठकलाई सम्बोधन गर्दै उनले भने,‘मलाई पार्टी बनाउने आँट छ, विभिन्न चुनौतिको सामना गरेर अघि बढ्न तयार छु।’
यद्यपि पतञ्जली प्रकरणका साथै जीवनमा एक पैसा पनि घुस नलिएका कारण आफूलाई कुनै डर नरहेको उनले बताए। नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदाहुँदै प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उनले बताए।
अहिले आफूमाथि प्रतिशोध साँध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पनि जान सक्ने नेपालले सचेत गराए।
नैतिकताको कुरा उठेपछि झलनाथको प्रस्तावमा छलफल नै भएन
खनालले बैठकमा नेपाललाई नैतिकताको कुरा उठाएका थिए। त्यसो त, यसअघि नेपाल काठमाडौँ र रौतहटबाट चुनाव हारेका बेला नैतिकताका आधार भन्दै पार्टी महासचिवबाट राजीनामा दिएका थिए। अहिले भ्रष्टाचार मुद्दा नै लागे पनि राजीनामा नदिनुलाई आश्चर्य मानिएको छ।
गत असार २० मा खनालले नैतिकको कुरा उठाएर पार्टीको बैठकबाट हिँडेका थिए। सोही दिन खनाल चीन प्रस्थान गरे। खनाल नै उपस्थित नभएपछि भोलिपल्टको बैठकमा उनको प्रस्तावमाथि छलफल नै नभएको समाजवादीका एक नेता बताउँछन्। ‘उहाँको प्रस्तावमाथि छलफल गर्नुपर्छ जस्तो लागेन। अरूअरू निर्णय गरियो,’ ती नेताले भने।
झाँक्रीप्रति माधव आक्रोशित, खनाल-भुसाल लचक
समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर पनि पार्टी नेता विभाजित बनेका छन्। नेपाल पक्षीय नेताहरू झाँक्रीको अभिव्यक्ति ‘अमानवीय’ भएको तर्क गर्छन्। ‘पार्टी अध्यक्षलाई सिनो भनिएको छ। झिनोको पार्टीमा किन बस्ने?’ पार्टी सचिव सोमप्रसाद पाण्डेय भन्छन्।
असार १४ गते लुम्बिनीमा भएको एक कार्यक्रममा नेतृ झाँक्रीले ‘अर्ली महाधिवेशन’ गरेर अध्यक्ष परिवर्तन गर्नुपर्ने भन्दै मरेको सिनो काँधमा बोकेर पार्टी नबन्ने बताएकी थिइन्। उनलाई पार्टीको अनुशासन आयोगले ७ दिने स्पष्टीकरण मागेको थियो। तर पार्टी बैठकमा झलनाथ–घनश्याम उनीको अभिव्यक्तिप्रति लचक देखिएका थिए।
पार्टी स्रोतका अनुसार भुसालले सुध्रिने मौका दिनुपर्ने भन्दै स्पष्टीकरणको म्याद थप गर्न माग गरेका थिए। यही कारण झाँक्रीेले स्पष्टीकरण बुझाउने म्याद थप गरिएको थियो। झाँक्रीलाई कारबाही गर्न नहुने आशय खनालले राखेका थिए। यही कारण पनि नेपालले स्पष्टीकरणको म्याद थपेको पार्टी स्रोत बताउँछ। झाँक्रीसँग समन्वय गर्न पार्टी महासचिव भुसाललाई निर्देशन दिइएको छ।