अन्तर्राष्ट्रिय महाेत्सवमा जमेका फिल्म घरेलु बजारमा किन कमजोर?

हिमाल प्रेस २७ असार २०८२ १७:४६
8
SHARES
अन्तर्राष्ट्रिय महाेत्सवमा जमेका फिल्म घरेलु बजारमा किन कमजोर?

काठमाडौँ- पछिल्लो समय नेपाली फिल्मले अन्तर्राष्ट्रियमा महाेत्सवमा आफ्नाे उपस्थिति बलियो बनाएको छ। गत वर्ष सन् २०२४ मा बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली फिल्म ‘शाम्बाला’को राम्रै चर्चा भयो। तर गत वर्ष २०८१ सालको नेपालमा प्रदर्शन भएका फिल्मको ‘बक्सअफिस’ तथ्यांक हेर्ने हो भने हलमा व्यापार राम्रो  सकेन।

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ फिल्मको नामावली सार्वजनिक गर्‍याे। जसमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुगेका कुनै फिल्म परेनन्। यसर्थ घरेलु बजारमा फिल्म महोत्सवमा पुग्ने फिल्म हलमा सफल हुन सकेका छैनन्।

नेपाली दर्शकले घरेलु बजारमा ती फिल्मलाई किन साथ दिइरहेका छैनन् भन्ने जिज्ञासामा फिल्म निर्देशक सुवर्ण थापाले दर्शकमा स्थापित भएको भाष्य कारक मानेका छन्। ‘अन्तर्राष्ट्रिय फेस्टिभलमा पुग्ने फिल्म बुझ्न कठिन हुन्छ। यो हाम्रो लागि भन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो। हामीले फिल्म सबैका लागि निर्माण गर्छौं, विदेशी  बुझ्ने दर्शकले स्वदेशी नबुझ्ने त हुँदैन होला। हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौँ’, निर्देशक थापाले भने।

उनले चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्नेलाई मात्रै नभएर अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गरिरहेका फिल्मलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे।

निर्देशक थापाले भने, ‘घरेलु बजारमा व्यापार गरेका कुनै फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेकाे छैन्। हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी  फिल्मकर्मीसम्म पुर्‍याएका छौँ। अहिले कलात्मक रुपमा अन्य धेरै देशका भन्दा नेपाली फिल्म अब्बल बन्ने गरेका छन्। यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ।’ उनको निर्देशनमा बनेको ‘सुनगाभा’, ‘राधा’ अन्तर्राष्ट्रिय  महोत्सवमा पुगेकाे थियाे।

यस विषयमा निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले  नेपाली फिल्मको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताए। उनले भने, ‘नेपालमा मात्र नभई भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका फिल्महरू बक्सअफिसमा कमजोर देखिएका छन्। हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरूको व्यापार बढी भएजस्तो लागेको हो तर सर्वाधिक कमाउनेको सूचीमा ती हुँदैनन्।

उनले थपे ‘राम्राको सूचीमा बक्सअफिसमा सफल फिल्म पर्दैनन्। तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका फिल्मलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र विस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन्।’

उनले घरेलु बजारमा महोत्सवले अब्बल भनिएका फिल्मको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन्। आफैं फिल्म समीक्षक हुँदा कलात्मक पक्षका प्रवद्र्धनमा जुटेका लामाले आफू निर्देशक भएपछि त्यस्ता कलात्मक चलचित्र निर्देशन गर्नसकेका छैनन्।

‘महोत्सवमा पुगेका फिल्म र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ। यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व  फिल्मसँग प्रतिस्पर्धा गर्ने काम गरिरहेका हुन्छाैँ। त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ। तर, त्यस्ता फिल्मको निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौँ’, निर्देशक लामाले भने।

अभिनेत्री केकी अधिकारीले नेपाली फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताइन्। ‘म ती फिल्मको दर्शक हुँ, म कुर्ने गर्छु  कहिले हेर्न पाइन्छ भनेर। तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ। कहिलेकाहीँ ती फिल्मको चर्चा हुँदा हलमा दर्शक हुँदैनन्। यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका चलचित्र घरेलु बजारमा कमजोर भएका छन्’, उनले भनिन्।

उनले निर्माण गरेको र अभिनेत्री समेत रहेर खेलेको फिल्म ‘बोक्सीको घर’ अन्तर्राष्ट्रिय महोत्सव नपुगे पनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो। फिल्मले  १० करोड व्यापार गरेको तथ्यांक चलचित्र विकास बोर्डमा छ।

घरेलु बजारमा सर्वाधिक कमाई गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका फिल्म बन्नुपर्ने धारणा राखे। ‘हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यासायिक भन्ने दुवै किसिमकाे बनाउनुपर्छ। किनकि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय उपस्थिति महत्वपूर्ण छ। अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ’ उनले भने।

आफ्नो पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको संघर्ष स्मरण गर्दै उनले फिल्म हलमा सञ्चालकले नेपालीलाई दायित्वका रुपमा पनि बुझ्नुपर्ने बताए।

‘म अस्ट्रेलियामा फिल्म वितरण गर्थे। त्यहाँ एउटा फिल्मलाई एक हप्ताको सो निकालेपछि घटाइने वा हटाइने भन्ने हुँदैन। यसले स्थिर बनाउनका साथै दर्शकले आफ्नो समयअनुसार फिल्म हेर्ने सोच बनाउँछन्। तर, यहाँ सो कतिबेला हट्छ भन्ने थाहै हुँदैन। त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै फिल्मलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ’ उनले थपे।

चलचित्र महोत्सवलाई लक्षित गर्दै निर्माण भएका ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा चार करोडको व्यापार गरेको थियो। ‘आर्टहाउस फिल्म’ भनिएको ती फिल्मको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने फिल्म बनेको छ। रासस

प्रकाशित: २७ असार २०८२ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast