
काठमाडौँ- साहित्यकार डा. छायादत्त न्यौपानेको किशोर उपन्यास ‘हामी गर्छौं’ को विमर्श गरिएको छ।
महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानले २१२ औं भानुजयन्तीको अवसरमा न्युमिलिनियम क्याम्पसमा कविता वाचनसहित उक्त उपन्यासको विमर्श कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा क्याम्पसका प्राचार्य रुद्र पन्त अध्यक्षताम र प्रा.ज्ञ बाबा वस्नेतको प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
डा. यादेवी ढकालले ‘हामी गर्छौं’ उपन्यास किशोर पाठकका लागि उपयोगी सामग्री रहेको बताइन्। ‘पुस्तकमा युवापुस्ता शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूसँत जोडिएर कृषिजन्य उत्पादन गर्न सकिने सुन्दर विकल्प दिइएको छ।’ उनले भनिन्। तथापि उनले लेखकलाई पुस्तकमा भाषिक सरलता र विषयवस्तुमा आख्यानीकरणमा जाेड दिनुपर्ने उनकाे सुझाव थियाे।
कृतिमाथि चर्चा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले पनि उपन्यास किशोर पुस्ताको लागि पठनीय रहेको बताए। ‘यसले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको छ। यसमा युवाले चाहेमा हाम्रो देशलाई कृषि कर्मबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्दै बिदेसिने युवालाई स्वदेशमै रहेर स्वरोजगार बन्ने सकिने सम्भावना खोजिएको छ।’ उनले भने।
उनले कृतिकाे भाषिक पक्ष जटिल रहेकाे औंल्याए। उनले भने, ‘कृतिको घटनावस्तुको छरितो प्रस्तुति र संवादात्मक शैली राम्रो छ तर भाषिक जटिलता, छिटो छिटो आएका घटना विवरणले स्वाभाविक बन्न नसकेको देखिन्छ।’
बालसाहित्यकार न्यौपानेकाजस्ता जीवनोपयोगी कृतिले किशोर उमेरका पाठकलाई कर्मक्षेत्रमा समर्पित हुन प्रेरित गरेको प्रमुख अतिथि प्राज्ञ वस्नेतले बताए। यस्तो कार्यक्रमले भाषासाहित्यको उत्थानमा योगदान पुग्ने उनको भनाई थियो।
कृतिकार डा. न्यौपानेले कृति विमर्श कार्यक्रमले आफूलाई बालसाहित्यमा काम गर्ने प्रेरणा मिलेको बताए।
कार्यक्रममा कवि घन थापा, माया वस्नेत, रुजु केसी, अनिता लामा, सविता ढकाललगायत स्रष्टाहरूले कविता वाचन गरे।