
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिवलाई प्रहरीले सोधपुछ गरेको विषयमा आपत्ति जनाएका छन्।
प्रहरीले पाठकलाई सञ्चारमाध्यम र अन्य कार्यक्रमका लागि पूर्वराजाबाट जारी हुने विज्ञप्ति, सन्देश र चिठीपत्रमा ‘श्री ५ ज्ञानेन्द्र’ लेखेको विषयमा सोधपुछका लागि डाकेको थियो। थापाले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्री ५ ज्ञानेन्द्र’ लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ।’
उनले सरकारको यस्तो कार्यलाई संकीर्ण मानसिकताको द्योतकका रूपमा टिप्पणी गरेका छन्। थापाले भनेका छन्, ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्,प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरू कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वाभाविक र मर्यादा पनि हो।’
जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार बोलाएपछि पाठक हाजिर भएका छन्। परिसरका एसपी अपिलराज बोहराले ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएका लेटरप्याड प्रयोग गरेको विषयमा सोधपुछ गर्न पाठकलाई बोलाइएको जानकारी दिए।