
काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्याग्जिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ। ग्लोबल आईएमई बैंक लगातार दोस्रोपटक यो अवार्डबाट सम्मानित भएको हो। ग्लोबल फाइनान्सले ग्लोबल आईएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।
विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यवासयिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरूमा ग्लोबल आईएमई बैंक सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो सम्मानले ग्लोबल आईएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा आभार व्यक्त गरेका छन्।
ग्लोबल फाइनान्स म्याग्जिनले ग्लोबल आईएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ।
ग्लोबल फाइनान्सले २०२५ का लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आईएमई बैंक, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायतका बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नयाँ सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आईएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा थप रचनात्मक सेवा प्रदान गर्न प्रोत्साहित गर्ने व्यवस्थापकले जनाएको छ।
यसअघि पनि ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले अहिलेसम्म यो अवार्डसहित बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयरजस्ता पुरस्कार प्राप्त गरिसकेको छ।