
झापा- लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन्। केही महिनायता संक्रमित १४२ गाईगोरु मरिसकेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ। हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ।
जिल्लामा सबैभन्दा बढी यो रोगको संक्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उनको भनाइ छ। गर्मी बढेसँगै लम्पी स्कीन रोगको संक्रमण फैलिरहेको छ। उनको भनाइ छ,‘यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ। रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौंँ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार पाँच सय वटा खोप जिल्लामा आएको छ।’
यो रोग लागेका गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ।