
काठमाडौँ- यमनका हुथी विद्रोहीहरूले एक मालवाहक जहाजमा आक्रमण गरी त्यसलाई ‘रेड सी’ मा डुबाएका छन्। जहाजमा रहेका चालक दलका २५ सदस्यमध्ये ६ जनार्ला उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको युरोपेली नौसैनिक मिसनले जनाएको छ।
युके मेरीटाइम ट्रेड अपरेशनसका अनुसार लाइबेरियाको झन्डा भएको ‘इटरनिटी सी’ नामक मालवाहक जहाजमा २५ जना चालक दलका सदस्य थिए।
एक सानो डुंगाबाट प्रक्षेपण गरिएको रकेक–चालित ग्रेनेड आक्रमण गरी हुथी विद्रोहीले जहाजमाथि नियन्त्रण कायम गरेका थिए। ग्रेनेड आक्रमणबाट जहाज गम्भीर रुपमा क्षतिग्रस्त भएको र सञ्चालन क्षमता गुमाएको बताइएको छ। सोमबार भएको यो घटनाको भिडियो हुथी विद्रोहीले बुधबार सार्वजनिक गरेका थिए।
मालवाहक जहाज इजरायलतर्फ गइरहेकोले जहाजमाथि आक्रमण गरेको इरान समर्थित हुथी विद्रोहीहरूले जनाएका छन्। चालक दलका केही सदस्यहरूलाई बन्धक बनाएको समेत उनीहरूले बताएका छन्।
यमनस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गरेर हुथी विद्रोहीहरूले चालक दलका केही सदस्यहरूको अपहरण गरेको पुष्टि गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।
एक हप्तामा हुथी विद्रोहीद्वारा डुबाइएको यो दोस्रो जहाज हो। यसअघि पनि ‘मैजिक शिप’ नामक अर्को मालवाहक जहाजमा मिसाइल र ड्रोनबाट आक्रमण गरी डुबाइएको थियो।
युरोपेली संघको नौसैनिक मिसन ‘अपरेसन एस्पाइड्स’ ले पहिला हराइरहेका चालक दलका ६ सदस्यलाई उद्धार गरिएको जनाएको छ। तीमध्ये पाँच जना फिलिपिन्स र एक जना भारतीय नागरिक रहेका छन्। तर, १९ जना अझै बेपत्ता छन्।