शिक्षा विधेयक अन्योलमा, शिक्षकको भविष्य अनिश्चित : कांग्रेस नेता महर

हिमाल प्रेस २६ असार २०८२ १६:२२
908
SHARES
शिक्षा विधेयक अन्योलमा, शिक्षकको भविष्य अनिश्चित : कांग्रेस नेता महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयक अझै पनि पारित नहुनु देशको शैक्षिक भविष्यका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

गुरु पूर्णिमाको अवसरमा आज बानेश्वरमा आयोजित शिक्षक प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै महरले विधेयक निर्धारित समयभन्दा धेरै ढिलो भइसकेको र अझै अनिश्चित अवस्थामै रहनु दुर्भाग्यपूर्ण भएको बताए। ‘जब अधिकारको मात्र कुरा हुन्छ र कर्तव्य बिर्सिन्छ, तब प्रणालीमा समस्या आउँछ,’ उनले भने, ‘विद्यालय शिक्षा विधेयकमा ढिलाइ हुनु हाम्रो सामूहिक असफलता हो।’

उनले शिक्षा क्षेत्र सुधारका लागि कर्तव्यबोधसहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। ‘वर्गीय मुद्दाको गम्भीरतालाई बुझ्दै हामीले शिक्षामा समावेशी, समान र दिगो नीति निर्माण गर्नुपर्छ,’ उनले भने।

शिक्षकको भूमिका र योगदानबारे धारणा राख्दै महरले आफूले विगतदेखि शिक्षक आन्दोलन र सरोकारका मुद्दाहरूको निरन्तर पैरवी गर्दै आएको स्मरण गराए। ‘गुरुहरूले खोजेको सम्मान र पेसागत सुरक्षा सुनिश्चित गर्नु मेरो व्यक्तिगत प्रतिबद्धता हो,’ उनले भने, ‘समाजमा शिक्षकप्रति विकसित हुँदै गएको दृष्टिकोण सकारात्मक छैन, यसलाई सुधार गर्नैपर्छ।’

कार्यक्रममा उनले लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शिक्षकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राज्यबाट उनीहरूको उचित सम्मान हुनुपर्ने माग राखे। साथै, कांग्रेसको शिक्षा विभागले पार्टीको शिक्षा नीतिलाई समयसापेक्ष बनाउन सूक्ष्म ढंगले काम गरिरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast