
काठमाडौँ- आमनिर्वाचनको अढाई वर्षपछि नेपाली कांगेसले अन्तर्घातीको आरोपमा नेताकार्यकर्तामाथि कारबाहीको डन्डा चलाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। कांग्रेसको अनुशासन समितिले २०७९ को प्रतिनिधिसभा÷प्रदेश–स्थानीय तह चुनावमा अन्तर्घातको आरोप लगाउँदै १८ जनालाई कारबाही गरेको निर्णय विवादित बनेको हो।
कारबाही गरिएका अधिकांश नेता इतर (शेखर कोइराला) पक्षका भएकाले पनि सभापति शेरबहादुर देउवा पक्षधरले गुटगत प्रतिशोध साँधेको आरोप छ। पार्टीले प्रदेश महामन्त्रीदेखि जिल्ला सभापतिसम्मलाई कारबाही गरेको छ।
अनुशासन समितिले नेताकार्यकर्तालाई एक वर्ष, ६ महिना र तीन महिनाका लागि कारबाही गरेको छ। कारबाही गरिएमा केन्द्रीय नेताहरूले असन्तुष्टि जनाएका छन्।
शेखर पक्षीय नेता डा. गोविन्दराज पोखरेल प्रतिशोधका साथ कारबाही गरिएको बताउँछन्। ‘कारबाही नै गर्नु थियो भने ६ महिनाभित्रमा गरेको भए यति बेला कारबाही फुकुवा हुन्थ्यो,’ पोखरेल भन्छन्, ‘अहिले कारबाही गर्दा अब महाधिवेशनमा लड्न पाउँछन् तरु’ पोखरेलका अनुसार यही कारण अहिले संस्थापन समूहले प्रतिशोध साँधिरहेको प्रस्ट छ।
कांग्रेस नेता चन्द्र भण्डारीले नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘पोहोर मरिन् सासू, अहिले आए आँसु’ भन्दै तत्काल छानबिन गर्नुपर्नेमा लामो समय लगाएर डन्डा लगाएकोमा व्यंग्य गरेका छन्। अर्का नेता सञ्जय गौतमले पनि पार्टीले प्रतिशोध साँधेको आरोप लगाएका छन्।
नेताहरूमाथि कारबाही भएपछि नेता डा. शेखर कोइरालाले बिहीबार बिहान आफ्नो सम्पर्क कार्यालय विशालनगरमा भेला बोलाएका थिए। जसमा नेताहरूले पार्टी संस्थापनले प्रतिशोध साँधेको आरोप लगाएका थिए।
नेता गुरु घिमिरेले कांग्रेसको विधानको भावना र नियमावलीको २८(१) मा गरिएको व्यवस्थाविरुद्ध निर्णय आएको बताए। उनका अनुसार कुनै पनि पार्टीको सदस्यउपर उजुरी परेको अथवा पार्टीको नियमावली जारी भएको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ। उजुरी परेको लगभग अढाई वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु पार्टी विधानविपरीत रहेको घिमिरेको भनाइ छ।
कांग्रेस नेताहरूका अनुसार कारबाहीमा संस्थापन पक्षका कुनै नेताकार्यता परेका छैनन्। छानीछानी डन्डा लगाएको आरोप कोइराला पक्षीय नेताहरूको छ।
‘मकनवानपुर १ मा महालक्ष्मी अर्याल ‘उपाध्याय’ले इन्द्र बानियाँमाथि उजुरी हाल्नुभएको थियो। तर त्यहाँ कारबाही भएन ?’ शेखर पक्षीय एक नेता भन्छन्, ‘तर हाम्रापट्टिका त छानीछानी कारबाही गरिएको छ।’
ती नेताका अनुुसार ०७४ सालमा आरजु देउवाले चुनाव लडेको जिल्ला कैलालीका सातजनालाई कारबाही गरिएको छ। कोइराला पक्ष्यले कारबाहीविरुद्ध अब चरणबद्ध कार्यक्रम अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
शेखर पक्षले पहिलो चरणमा पार्टी सभापतिलाई कारबाहीका विषयमा पार्टीका नेताहरूले कुरा गर्ने निर्णय लिएको छ। दोस्रो चरणमा शेखर कोइरालाले देउवालाई भेट्ने र कारबाहीका विषयमा बुझाउने निर्णय भएको छ।
‘यसअघि नै शेखर डाक्टर साब र सभापतिजीबीच कारबाही नगर्ने भद्र सहमति भएको रहेछ। तर त्यो उल्लंघन भएको छ। त्यसले गर्दा अब एकपटक सभापतिलाई सम्झाउने निर्णय हो’, कोइराला पक्षीय नेता घिमिरेले भने।
तेस्रो चरणमा पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउनेविरुद्ध प्रतिवाद गरिने घिमिरेले बताए।
शेखर आक्रोशित, गगन मौन
कारबाहीप्रति कोइराला पक्षले प्रतिवादमा उत्रिने निर्णय गर्दा महामन्त्री गगन थापा भने मौन देखिएका छन्। कोइराला पक्षको भेलामा पनि महामन्त्री थापाको खोजी भएको थियो। भेलामा सहभागी नेताहरूले कारबाहीमा महामन्त्री थापाको पनि मिलेमतो भएको शंका गरेका थिए। पछिल्ला दिनमा महामन्त्री थापा सभापति देउवासँग नजिक रहेको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ।
महामन्त्री थापा यति बेला विदेश भ्रमणमा छन्। थापा बुधबार थाइल्यान्ड भ्रमणमा गएका हुन्। उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले पनि नेताहरूमाथि गरिएको कारबाहीका विषयमा थापा समूहले कुनै प्रतिक्रिया नदिएको नेताहरूले बताएका छन्।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, फरक मत राख्न पाइन्छ’
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले कारबाही प्रतिशोध नभई विधिसम्मत भएको बताए। उनले लामो समय छानबिन गरेर प्रमाण भेटेपछि मात्र कारबाही गरेको बताए। उनले भने, ‘ढुंगानाले सबैलाई कारबाही नहुनुको अर्थ प्रमाण नभेटिएकाले हो।’
ढुंगानका अनुसार समितिमा ५० जिल्लाका २१ सय उजुरी छन्। ‘सबैलाई कारबाही भएको छैन। किनभने प्रमाण आएको हुनुपर्छ’, ढुंगानाले भने। उनले समिति बैठकमा समेत दुईजनाले फरक मत राखेको बताए।
‘फरक मत राख्न वा निर्णय चित्त बुझेन भन्न पाइन्छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो’, ढुंगानाले भने। उनले कांग्रेसमा लामो समयदेखि अन्तर्घातको प्रवृत्ति रहेको बताए।
‘विगतमा काठमाडौँबाट किसुनजीलाई हराउने काम भयो। त्यो गलत प्रवृत्ति थियो। यो संस्कार मौलाउँदै गयो,’ ढुंगाना भन्छन्, ‘अहिले कारबाही गरेन भने अन्तर्घातको प्रवृत्ति मौलाउँदै जान्छ, त्यसैले मैले आँट गरेको हुँ।’
यी हुन् कारबाहीमा परेका नेता
तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता एक वर्षका लागि कारबाहीमा परेका छन्। अब उनीहरू पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन पाउँदैनन्।
धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादव, सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव ६ महिनाका लागि कारबाहीमा परेका हुन्।
यस्तो कारबाही हुने अन्य नेतामा कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी छन्।
तीन महिनाका लागि कारबाहीमा परेका नेताहरूमा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी छन्।
इतरपक्षमाथि कारबाही भएपछि कांग्रेसमा आक्रोश बढेको छ। शेखर कोइरालाले त आफूनिकट नेताहरू भेला गरेर कारबाहीविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन्। कोइराला पक्षले कारबाही विधिसम्मत नभएको भन्दै असन्तुष्टि जनाएको छ। कांग्रेसको पाँच सदस्यीय अनुशासन समतिमा तीनजना कारबाहीका पक्षमा हस्ताक्षर गरेका थिए भने दुईजनाले फरक मत राखेका थिए।
समितिको संयोजकमा आनन्दप्रसाद ढुंगाना छन् भने सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालाछन्। उनीहरूमध्ये गौतम र कोइराला कोइराला पक्षका मानिन्छन्। ‘हो, उहाँहरूले फरक मत राख्नुभयो। कारबाहीमा हस्ताक्षर गर्नुभएन’, संयोजक ढुंगानाले हिमालप्रेससँग भने।
ढुंगानाका अनुसार अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी परेका थिए। जसमध्ये प्रमाण भेटिएका १८ जनालाई सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नहुँदा कारबाही भएको हो।
प्राप्त उजुरीमाथि निर्णय लिन ९ देखि १७ असारसम्म अनुशासन समितिको बैठक बसेको थियो। बैठकको निर्णय भन्दै संयोजक ढुंगानाले बुधबार कारबाहीमा परेका नामहरू सार्वजनिक गरेका थिए।