
काठमाडौँ- हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्म भारतीय उपमहाद्वीपभरि मनसुनी वर्षाको शृंखला फैलिन्छ। मनसुनी वर्षाले गर्मीबाट छुटकारा दिलाउँछ। खेतबारीमा सिँचाइ गर्छ र नदी परिपूर्ण बनाउँछ।
विश्वव्यापी तापक्रम वृद्धिसँगै मनसुनी वर्षा क्रमशः अनियमित र अत्यधिक भइरहेको छ। पछिल्ला दिनमा बाढीपहिरोले घातक रूप लिएको छ। २०२४ भरि भारतमा मात्रै भारी वर्षा र बाढीका कारण एक हजार तीन सयजनाको ज्यान गएको थियो।
सन् २०२५ को सुरुमै दक्षिण एसियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तान र माल्दिभ्समा वर्षाका कारण सयौँको निधन भएको समाचार आइरहेका छन्। जलवायु विज्ञहरू भन्छन्, उच्च तापक्रम र भारी वर्षाले हिमालय पर्वतीय क्षेत्रमा रहेका हिमनदी पग्लने प्रक्रिया तीव्र बनेको छ। जसका कारण विनाशकारी बाढी र पहिरो आइरहेका छन्।
दक्षिण एसियाली क्षेत्रमा परम्परागत रूपमा दुईवटा मनसुन सक्रिय हुन्छन्। एउटा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म रहन्छ, जसमा वर्षा दक्षिणपश्चिमबाट उत्तरपूर्वतर्फ सर्छ। अर्को मनसुन अक्टोबरदेखि डिसेम्बरसम्म चल्ने गर्छ, जसमा वर्षा ठिक उल्टो दिशामा अर्थात् उत्तरपूर्वबाट दक्षिणपश्चिमतर्फ सर्छ।
विज्ञहरूका अनुसार पछिल्ला वर्षमा तापक्रम वृद्धिका कारण मनुसुनी ढाँचा परिवर्तन भएको छ। यसको अर्थ हो, मनसुन अब सन्तुलित र लगातार हुनुको सट्टा कहिले एकैपटक भीषण बाढी आउने गरी पानी पर्छ त कहिले लामो खडेरी पर्छ।
‘हामी दक्षिण एसियाभरि मनसुनको ढाँचामा जलवायु परिवर्तन देखिरहेका छौँ’, भारतीय उष्णदेशीय मौसम विज्ञान संस्थान, पुणेका जलवायु वैज्ञानिक तथा संयुक्त राष्ट्रसंघका कैयौँ जलवायु प्रतिवेदनका लेखक रोक्सी म्याथ्यु कोलले समाचार संस्था एपीसँग भनेका छन्। परम्परागत रूपमा भारत र छिमेकी देशका मानिस मनसुनी वर्षालाई उत्साहपूर्वक प्रतीक्षा गर्थे। किनभने यसले गर्मी अन्त्यको संकेत दिन्थ्यो। अहिले वर्षायामसँगै विपद्का घटना बढ्दै जाँदा जनमानसको धारणा परिवर्तन हुँदै गएको छ। उनीहरू बढी त्रसित हुने गरेका छन्।
‘अत्यधिक वर्षाका घटना दोहोरिरहेका छन्, जसले प्रायः सहरी क्षेत्रमा ढल निकास प्रणाली अवरुद्ध गर्छ र एक्कासि बाढी आउँछ,’ कोलले भने। जलवायु विज्ञका अनुसार तापक्रम वृद्धि र खडेरी अवधि लम्बिँदै जाँदा दक्षिण एसियामा कृषि उत्पादनमा ह्रास आइरहेको छ।
‘दक्षिण एसियामा ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छन्। तीमध्ये लगभग सबैजना मनसुनी वर्षामाथि निर्भर छन्,’ काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की जलवायु वैज्ञानिक फिनु श्रेष्ठले भनिन्।
इसिमोडले सन् २०२३ मा प्रकाशित गरेको एक प्रतिवेदनमा हिन्दूकुस र हिमालय पर्वत शृंखलाभरिका हिमनदी अहिलेसम्मकै तीव्र गतिमा पग्लिँदै गएको उल्लेख छ। अध्ययनअनुसार उक्त क्षेत्रमा रहेका दुई हजारभन्दा बढी हिमतालमध्ये कम्तीमा दुई सयवटा हिमताल फुट्ने जोखिममा छन्, जसले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउन सक्छ। भीषण मनसुनी वर्षाले यो समस्या अझ गम्भीर बनाउने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।
‘धेरै पर्वतीय क्षेत्रमा विश्वको औसत तापक्रमभन्दा बढी गर्मी हुने भएकाले हिमनदीहरू पग्लिरहेका छन्’, अन्तर्राष्ट्रिय क्रायोस्फियर क्लाइमेट इनससिएटिभकी हिमनदी विज्ञ मिरियम ज्याक्सनले भनिन्।
अक्टोबर २०२३ मा भारतीय राज्य सिक्किममा एउटा हिमताल फुट्दा हुँदा बाढी आएको थियो। उक्त बाढीमा परी ५५ जनाको ज्यान गएको थियो। बाढीले धेरै पुल, भवन तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो।
‘भीषण वर्षा र बढ्दो गर्मीका कारण हिमताल र बरफका पहिरो जाने, ढुंगा खस्ने लगायतका घटना बढिरहेका छन् जसले हिमताल फुट्न मद्दत गरिरहेको छ’, श्रेष्ठले भनिन्, ‘साना हिमताल पनि भत्किएर क्षतिका कारण बनिरहेका छन्’, उनले भनिन्।
जलवायु विज्ञहरूले प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्न र कम जोखिम भएका क्षेत्रमा पूर्वाधार निर्माण गर्न सुझाव दिएका छन्। ‘नदी किनारमा एउटा चेतावनी प्रणाली स्थापना गर्ने हो भने त्यसको साइरन बज्दा मानिसहरू उच्च स्थानतर्फ जान सक्छन्’, ज्याक्सनले भनिन्। उनले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिससम्म सामाजिक सञ्जाल र सन्देश पठाउने एपहरूका माध्यमबाट बाढीको चेतावनी छिटो फैलाउन सकिने बताइन्।
वैज्ञानिक कोलले भने तीव्र सहरीकरण, बाढी फैलिने मैदानको सीमितता र प्राकृतिक जलनिकासीको क्षतिले भारी वर्षाबाट क्षति बढाउँदै गएको बताउँछन्। कोलका अनुसार दक्षिण एसियमा अधिकांश सरकारी सक्रियता विपत् पछाडि मात्रै हुने भएकाले दीर्घकालीन योजना अभाव छ। एपीको सहयोगमा