
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई हटाएको छ।
बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एक पत्रमार्फत लावतीलाई हटाएको जानकारी दिएका थिए। सोही पत्रमा वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनीत गरिएको छ। लिङ्देनले नै यसअघि लावतीलाई प्रवक्तामा मनोनीत गरेका थिए। पछिल्लो समय राप्रपामा दुई लाइन संघर्ष चलिरहेको छ।
एकातिर लिङ्देन र अर्कोतिर विक्रम पाण्डे, धवलशमशेर जबरा र रवीन्द्र मिश्रको लाइन चलिरहेको छ। लिङ्देनले यसअघि पनि अर्को लाइनका नेताहरूको जिम्मेवारी खोसेका थिए। संगठन विभागको प्रमुख रहेका धवलशमशेरको जिम्मेवारी उपचार गर्न भारत गएका बेला खोसिएको थियो। पार्टीमा गुटगत संघर्षका कारण लिङ्देनले इतरपक्षलाई डण्डा चलाएको नेताहरूको भनाइ छ।
लावती पनि धवल निकट नेता मानिन्छन्। राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको आन्दोलनमा लावती समेत सरिक रहेका थिए। लिङ्देनले सोही नेतृत्वको अस्वीकार गर्दा इतर पक्षले समर्थन जनाएको थियो।
राप्रपामा आगामी नेतृत्व चयनलाई लिएर पनि कित्ताकाट भइरहेको नेताहरू बताउँछन्। संस्थापनबाट लिङ्देन अध्यक्षमा दोहोरिने तयारीमा छन् भने इतरबाट धवल र विक्रम अध्यक्षका आकांक्षी हुन्।