
काठमाडौँ- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे उठेका भ्रामक र आधारहीन सामग्रीलाई विश्वास नगर्न आग्रह गरेको छ।
स्पेनको सेभियामा आयोजित ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयलाई त्यस्ता विषयलाई विश्वास नगर्न आग्रह गरेको हो।
परराष्ट्रले प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल ३० जुनदेखि ४ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी भएको र प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किएको जनाएको छ।
‘द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व एवं भूमिका, राष्ट्रहितको प्रवद्र्धन र मितव्ययितासमेतका आधारमा स्थापित व्यवस्थाअनुरुप मन्त्रिपरिषद्बाट निर्णय हुने गरेको व्यहोरा अवगतै छ,’ परराष्ट्रले विज्ञप्ति निकालेर भनेको छ,‘जसअनुसार गत ३० जुनदेखि ४ जुलाईसम्म सम्पन्न सम्मेलनमा सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नेतृत्वको नेपाल प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसक्नु भएको छ।’
भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन परराष्ट्र मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका केही व्यक्ति स्वदेश नफर्किएको आरोप लगाएकी थिइन्। उनले मंगलबार प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडेको बताएकी थिइन्।
तर, बुधबारको बैठकमा अभिव्यक्ति सच्याउँदै सांसद गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफूले नभनेको बताइन्। उनले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको र प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्तिहरू चाहिँ नफर्किएको धारणा राखेको उल्लेख गरिन्।
स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएको र यो कार्यक्रममा विभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपालीहरू गएको उनले बताइन्।
रास्वपा सांसद गौतमको यो अभिव्यक्तिपछि गृहमन्त्री रमेश लेखकका साथै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले स्पेनबाट नफर्किनेको नाम सार्वजनिक गर्न चुनौती दिएका थिए।
गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर उतै बसे नबसेको भनेर प्रश्नसमेत गरेका थिए।