
काठमाडौँ- दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा सक्रिय भएकोमा नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरूले पनि भण्डारीको राजनीतिक सक्रियताबारे प्रश्न उठाएका हुन्।
केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भण्डारीको विषय प्रवेश गरेको थियो। नेताहरूले राष्ट्रप्रमुख बनेको व्यक्ति किन पार्टी राजनीतिमा प्रवेश गरेको भनेर प्रश्न गरेका थिए। कांग्रेस बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले भण्डारीको राजनीतिक पुनरागमनलाई ‘नोटिस’ गर्नुपर्ने बताएका थिए।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू फेरि सक्रिय राजनीतिमा फर्किँदा त्यसले नागरिकमा वितृष्णा बढाउने बताएका थिए। यस विषयलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गम्भीर रूपमा लिएको नेताहरू बताउँछन्।
सभापति देउवाले भण्डारीको पुनरागमनलाई चासो राख्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत सोधेका छन्। मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका देउवाले ओलीलाई ‘भण्डारी किन राजनीतिमा फर्किएको?’ भनेर प्रश्न गरेको कांग्रेस उच्च स्रोतले बतायो।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा यो प्रश्न देउवाको मात्र नभई समग्र कांग्रेसको रहेको दाबी गर्छन्। ‘यसअघि केन्द्रीय समितिमा उठेको प्रश्न हो यो। एमाले नेतृत्वमा हामीले बुझ्न खोजेको हो,’ विश्वकर्मा भन्छन्। यस विषयमा ओलीले भने देउवालाई अपेक्षित जबाफ दिन सकेनन्। भण्डारीको एमाले प्रवेश पार्टीको सांगठनिक निर्णय नभएको ओलीले बताएका थिए।
किन भण्डारीप्रति अनुदार रहे देउवा?
कांग्रेस नेताहरूका अनुसार पछिल्लो समय वर्तमान व्यवस्थामाथि प्रश्न उठिरहेका बेला भण्डारी राजनीतिमा फर्किनुलाई देउवाले आश्चर्य मानेका छन्। किनभने यसअघि कांग्रेसबाटै राष्ट्रपति बनेका डा.रामवरण यादव अहिले राजनीतिबाट अवकाशमा छन्।
कांग्रेस नेताहरूले रामवरणलाई राजनीतिमा फर्किन नदिन आफूहरूले भरमग्दुर प्रयास गरेका थिए। यद्यपि रामवरण राजनीतिमा फर्किएनन्। कांग्रेस नेताहरूका अनुसार राष्ट्रपति सेनाको समेत परमाधिपति बनेको व्यक्ति फेरि राजनीतिमा फर्किन नहुने तर्क छ।
‘सेनाको परमाधिपति भनेको निष्पक्ष व्यक्ति बन्ने हो। यस्तो व्यक्ति किन फेरि राजनीतिमा गाली खान होमिने?’ विश्वकर्मा भन्छन्, ‘यसले त राष्ट्रपति पदलाई कमजोर बनाउँछ भन्ने बुझाइ हो।’
कांग्रेस नेताहरूले भण्डारीप्रति अनुदार रहे पनि संविधानले नरोक्ने बुझाइ छ। एमाले नेताहरू भण्डारी राजनीतिमा फर्किनुपर्ने परिस्थिति रहेको दाबी गर्छन्। त्यसो त देउवालाई भण्डारी राजनीतिमा फर्किएको भन्दा पनि सिस्टम बिग्रिनेमा चिन्ता परेको विश्वकर्माको भनाइ छ। यसरी नै राष्ट्रपति बन्ने अनि फेरि राजनीतिमा फर्किने हो भने पदीय मर्यादामाथि प्रश्न उठ्ने कांग्रेसको बुझाइ छ।
देउवाको बोलीले ओलीलाई ऊर्जा?
ओलीको विकल्पका रूपमा भण्डारी एमाले भित्रिएको चर्चा छ। फेरि पनि एमाले अध्यक्ष बन्ने रहर गरिरहेका ओलीलाई भण्डारी तगारो बनेकी छन्। ओली निकट नेताहरू भण्डारी राजनीतिमा फर्किन नहुने तर्क गर्छन्। एमाले उपमहासचिव प्रदीप ज्ञवाली भण्डारी राजनीतिमा फर्किनुले प्रणालीमाथि असर गर्ने बताउँछन्।
एमालेको ओली निकट नेतामा रहेको यो खटपटीले देउवाको बोली ऊर्जा मिलेको छ। देउवासमेत भण्डारीको पुनरागमनमा सकारात्मक नबनेकाले ओलीलाई सहज भएको नेताहरू सुनाउँछन्।
गत असार १४ गते मदन भण्डारीको जन्मोत्सवमा भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन्। त्यसपछि एमालेका नेताहरू भण्डारीलाई भाबी नेतृत्वका रूपमा लिन थालेका छन्।
राजनीतिक वृत्तमा भण्डारीको पुनरागमनलाई सशंकित मानिएको छ। माओवादी केन्द्रले भने भण्डारीको राजनीति पुनरामगनलाई स्वाभाविक ठानेको छ। भण्डारीसँगै दुई कार्यकाल उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई माओवादी भित्र्याएपछि माओवादी भण्डारीप्रति सकारात्मक बनेको हो। माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा भण्डारीलाई राजनीतिमा फर्किन संविधानले नरोकेको तर्क गर्छन्।