तामामा ५० प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पको घोषणा

हिमाल प्रेस २५ असार २०८२ ११:५४
10
SHARES
तामामा ५० प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पको घोषणा फाइल तस्बिर।

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आयातित तामामा ५० प्रतिशत नयाँ भन्सार महसुल लगाउने घोषणा गरेका छन्। यद्यपि यो नयाँ महसुल कहिले लागू हुनेछ भन्ने स्पष्ट भएको छैन।

‘आज हामी तामामा थप भन्सार महसुल लगाउँदै छौँ’, ट्रम्पले अमेरिकी मन्त्रिपरिषद्को बैठकमा भने, ‘मलाई लाग्छ दर ५० प्रतिशत हुनेछ।’

यो ट्रम्पको दोस्रो कार्यकालमा लगाइएको चौथो धेरै महसुल हुनेछ। हाल अधिकांश आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत महसुल लागिरहेको छ भने स्टिल र एलुमिनियममा ५० प्रतिशत महसुल लागू भइसकेको छ।

तामामा महसुल कहिलेदेखि लागू हुन्छ भन्नेबारे ट्रम्पको कार्यतालिका बारेमा सोध्दा ह्वाइट हाउसले प्रतिक्रिया नदिएको अमेरिकी समाचार एजेन्सी सीएनएनले उल्लेख गरेको छ।

फेब्रुअरीमा ट्रम्पले ‘सेक्सन २३२’ अन्तर्गत कपर आयातमा अनुसन्धानको आदेश दिएका थिए, जसअनुसार राष्ट्रपति राष्ट्रिय सुरक्षाका कारण देखाउँदै उच्च भन्सार महसुल लगाउन सक्ने कानुनी अधिकार राख्छन्।

तामा इलेक्ट्रोनिक्स, मेसिनरी र गाडीजस्ता थुप्रै वस्तुमा प्रयोग हुने अत्यावश्यक तत्त्व हो। तामामा महसुल लगाउँदा यस्ता वस्तुहरू अमेरिकी उपभोक्ताका लागि महँगो पर्न सक्छन्। अमेरिकी वाणिज्य विभागका अनुसार अमेरिकाले गत वर्ष १७ अर्ब डलर बराबरको तामा आयात गरेको थियो। तीमध्ये सबैभन्दा ठूलो आपूर्तिकर्ता चिली थियो, जसले ६ अर्ब डलर बराबरको तामा अमेरिका पठाएको थियो।

ट्रम्पको घोषणापछि तामाको मूल्य उच्च बिन्दुमा पुगेको छ। न्युयोर्कमा तामाको मूल्य १५ प्रतिशतसम्म बढेर प्रति पाउन्ड ५.६८ डलरमा पुगेको छ, जुन हालसम्मकै उच्च हो।

‘तामामा महसुल लगाउन यति ढिला भयो भनेर म अचम्मित छु,’ वासिंटनस्थित रेन्डमन्ड जेम्स कम्पनीका नीति विश्लेषक एड मिल्सले भने।

तामाको मूल्य यस वर्ष ३८ प्रतिशतले बढिसकेको छ, जसले बजारमा स्टक जम्मा गर्न हतार भएको संकेत दिन्छ।

‘५० प्रतिशत महसुल वृद्धिले तामाका उपभोक्तामाथि ठूलो करको भार पर्नेछ,’ स्याक्सो बैंकका कमोडिटी रणनीतिक प्रमुख ओले हानसेनले भनेका छन्।

‘ट्रम्पले के गर्छन् त्यसलाई हेरौँ, न कि उनले के भन्छन् भन्ने मात्र,’ हानसेनले थपे, ‘सायद उपभोक्तामाथि पर्ने असर बुझेर सरकार चरणबद्ध रूपमा महसुल लागू गर्न सक्छ।”

ट्रम्पले यो पनि भने कि फार्मास्यूटिकल्स (औषधि) मा २०० प्रतिशत महसुल आउनेछ तर त्यसलाई लागू गर्न केही समय लाग्न सक्छ।

पहिलो कार्यकालमा औषधि आयातलाई महसुलबाट छुट दिएका ट्रम्पले पछिल्ला केही महिनादेखि औषधिमा महसुल लगाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। यद्यपि कुनै ठोस कदम भने चालेका छैनन्। अप्रिल मध्यतिर सरकार पक्षबाट औषधि आयातबारे राष्ट्रिय सुरक्षाका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

फार्मास्युटिकल्समा महसुल लगाउने सम्भावित कदमबारे अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले बुधबार भने, ‘यो निकै चिन्ताजनक विषयबारे थप विवरण जान्न हामी अत्यावश्यक रूपमा प्रयासरत छौँ।’

प्रकाशित: २५ असार २०८२ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast