
बुटवल- अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक अवरुद्ध भएको छ। दाउन्नेमा पहिरोको अवरोध र सडक भासिएपछि सवारी चल्न नसकेका हुन्।
दाउन्ने खुर्सानी खोला नजिकै माथिबाट पहिरो आएको छ भने र सडक समेत भासिको छ। यसैले आज बिहानबाटै पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार सडमा फसकेको लु१क ५८२७ नम्बरको ट्रक निकाल्ने कार्य भइरहेको छ।
दाउन्नेमा सडक खुलाउनका लागि आवश्यक इक्यूपमेन्ट ल्याएर काम भइरहेको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। ‘सबै शक्ति प्रयोग गरेर सडक खुलाउने प्रयत्नमा छौँ’ उनले भने, ‘पानी परेन भने दिउँसोसम्म सडक सुचारु गर्छौ।’
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासमा रोकिएका छन्।
पछिल्लो समय पानी पर्नासाथ पहिरोले गर्दा दाउन्नेको सडक निकै कष्टकर बन्दै आएको छ। पूर्व र पश्चिम नेपाल जोड्ने मुख्य राजमार्ग क्षेत्रको दाउन्ने खण्डका कारण यात्रा निकै कष्टकर हुँदै आएको छ।
नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहदा झन यो सडक अवरुद्ध हुनेक्रम बढेको हो। दाउन्ने खण्डको १४ किलोमिटर सडकले गर्दा यात्रु र चालकको पाउनुसम्मको सास्ती पाएका छन्।